बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालू भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए ।
प्रदेश १ काे प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ ।
बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालू भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए ।
समापन बैठकमा सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको स्पष्ट पारे । उनले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै सङ्घीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको गुनासो गरे ।
उनले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको टिप्पणी गरे । उनले प्रदेशसभाको तेस्रो अधिवेशनको शुरुमै राजधानी र नामकरण टुङ्गो लगाइने बताए ।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा सो प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राखे । सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिए ।
प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ सहयोगको आवश्यकता आैंल्याइन् । रासस