तलेजुमा जमरा राखी दसैं सुरु

आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दसैं सुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादसैं सुरु भएको छ ।

आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दसैं सुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

नेपालकै मूल तलेजुमा वैद्धिक एवम् तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैंघरमा जमरा राखिएको हो । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल संवत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा सुरु भएको जोशीले बताए ।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बली दिई कालरात्री गरी जात्रा मनाउने गरिन्छ ।

तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा छ ।

तलेजुलाई दसैंघरमा राखेर पूजा गर्ने परम्पराअनुसार मूलनाइके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दसैंघर पुर्याएर विजयादशमीको दिनसम्म तलेजुलाई दसैंघरमा राखेर पूजा गर्ने परम्परा छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दसैंघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको मूलनाइके जोशीले बताए ।

एकान्त कुमारीलाई कुमारी घर भित्र्याइयो

त्यसैगरी जीवितदेवीको रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी जीविका बज्राचार्यलाई कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याइएपछि आजदेखि कुमारी एवम् तलेजु जात्रा सुरु भएको छ ।

घटस्थापनादेखि दसैंभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा बिराजमान गराई पूजा गरिएको तलेजूका मूलनाइके जोशीले बताए ।

तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद, सामवेद र चण्डीपाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने जानकारी दिँदै उनले दसैंभरि टिबुक्छेँमा रहने ११ गणकुमारीको समेत तलेजु ल्याएर पूजा गरिने जानकारी दिए । रासस