२–४ जनालाई हेरेर सङ्गठनलाई कमजोरी नठाने हुन्छः प्रहरी महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २–४ जना प्रहरी कर्मचारीको कमीकमजोरीलाई लिएर प्रहरी सङ्गठनलाईनै कमजोरी नठान्न आग्रह गरेका छन् ।

६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले केही सिमित ब्यक्तिको कारण सबै प्रहरी अधिकारी र सिगौ सङ्गठनलाई गलत नियतले हेर्न नहुने बताए । कार्यक्रममा बोल्दै उनले भने ‘जिम्मेवारी निर्वाह गर्ने क्रममा सानातिना गल्तीहरु हुन सक्छन्, तर केही ब्याक्तिको कारण सबैलाई एकै स्थानमा राख्न सकिँदैन । पछिल्लो समयमा सङ्गठनमाथि केही शङ्का पैदा भएको छ, हामी त्यसलाई चिर्ने प्रयास गर्दै छौं, उनले भने।

उनले पछिल्लोे समय अपराधीले प्रविधिको प्रयागमा अपराध गर्न थालेको भन्दै अपराध अनुसन्धानमा पनि चुनौती थपिएको बताए । उनले खुला सीमाका कारण शान्ति सुरक्षामा चुनौती थपिएको बताए । स्रोत साधनको अभावका बाबजुद पनि नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा राष्ट्रले सुम्पेको जिम्मेवारी अहोरात्र खटिएर निर्वाह गर्दै आएको जिकिर गरे।