बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले एटीएमको निरीक्षण गरेकी हुन् । एटीएमबाट पानी झारेर उनले पानी पिएकी हुन् । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले जानकारी दिए ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ ।
बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले एटीएमको निरीक्षण गरेकी हुन् । एटीएमबाट पानी झारेर उनले पानी पिएकी हुन् । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले जानकारी दिए ।
ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाइने अवधारणास्वरुप वाटर एटीएमको सुरुआत गरिएको हो ।
उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । उक्त एटीएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।
यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यकाभित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताए । उनले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएका ठाउँहरुमा पहिलो चरणमा वाटर एटीएम राख्दै लगिने जानकारी दिए । यो वर्षभित्र २० ओटा वाटर एटीएम राखिने बोर्डको भनाइ छ ।