मजदुरको ज्याला १५ हजार बनाउन पहल

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने र दलहरुले निर्वाचनअघि मजदुरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्यूनतम मासिक ज्याला १५ हजार रुपैयाँ बनाउन सरकारले पहल गर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’ उद्घाटनका अवसरमा प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको न्यूनतम ज्याला नौ हजार ७ सय धेरै कम भएको टिप्पणी गरे । ‘मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्न सक्ने हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने र दलहरुले निर्वाचनअघि मजदुरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको बताए । कार्यक्रममा विभिन्न मजदुर सङ्गठनका नेताले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्नेलगायत माग अझै पूरा नभएकाले दबाबमूलक कार्यक्रम अगाडि बढाइने बताएका थिए ।

‘स्थिरता र समृद्धिका लागि सुदृढ ट्रेड युनियन आन्दोलन’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा देशभरबाट विभिन्न मजदूर सङ्गठनका प्रतिनिधि सहभागी छन् । नेपालका प्रमुख राजनीतिक पार्टी निकट रहेर ट्रेड युनियन आन्दोलनमा आबद्ध १० ट्रेड युनियनको साझा सङ्गठनका रुपमा १० वर्षअघि संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको स्थापना गरिएको थियो । केन्द्र निर्माण गर्दा सम्मेलनमार्फत प्रमुख मजदुर सङ्गठनले आलोपालो नेतृत्व गर्ने सहमतिअनुरुप सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।