हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत् मिटर जडान गर्न एक हजार ७०० का दरले अनुदान दिइएको उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।
म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाँस दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ ।
वन समूहले गाउँपालिकामै पहिलोपटक धारापानीमा भएको विद्युतीकरण योजनाका लागि करिब साढे तीन लाख रूपैयाँ लगानी गरेको हो । हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत् मिटर जडान गर्न एक हजार ७०० का दरले अनुदान दिइएको उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।
“विद्युत् सुविधा भएपछि वन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने भएकाले घाँस र दाउरा बेचेर जम्मा गरेको रकम सहयोग गरेका हौँ,” अध्यक्ष थापाले भने । सात अाेटा वडा रहेको धौलागिरि गाउँपालिकाको धारापानीमा भदौ महिनादेखि बिजुली बल्न थालेको हो ।
विसं २०६७ देखि सुरु भएको विद्युतीकरण योजनाबाट २०१ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले बताए । सचिव थापाका अनुसार गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समूह, स्थानीयवासी, तत्कालीन जिविस र गाविसको ५६ लाख ८३ हजार ७६० रूपैयाँको लागतमा योजना निर्माण भएको हो ।
धेरै वर्षसम्म उज्यालोका लागि सिट्ठा र दियालो बालेर रात कटाएका धारापानीका रामबहादुर खत्रीले गाउँमा बिजुलीसँगै विकासको अवसर भित्रिएको बताए । उज्यालोका अतिरिक्त फर्निचर, अल्लो प्रशोधन, राईसमील, मासु पसल सञ्चालन हुन थालेको छ । रासस