जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए ।
दसैंको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने दाङका करिब ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार कारवाहीमा पर्नेमा तीव्रगतिमा गाडी चलाउने, मापसे गरेर चलाउने, क्षमताभन्दा बढी सामान राख्ने र सवारी सञ्चालन कागजात नभएका चालक छन् । कारवाहीमा पर्नेमा मोटरसाइकल, जीप कार, बस, ट्रक, टिपर, अटो लगायतका सवारी साधनका चालक छन् । उक्त कारवाहीबाट तीन लाख १९ हजार राजस्व सङ्कलन भएको पनि प्रहरी निरीक्षक कुँवरले बताए ।
दसैंको अवधिमा दाङमा चार अाेटा सवारी साधन दुर्घटना भएकामा एक जनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष दसैंको समयमा भन्दा यसपटक भने सवारी साधन दुर्घटनामा कमी आएको छ । गत वर्ष सो अवधिमा एक दर्जनबढी सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । रासस