द्रुतसेवा लिँदा राजस्व दस्तुर दोब्बर परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ ।
कपिलवस्तुमा द्रुत राहदानी सेवाअन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजस्व दस्तुर दोब्बर परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७५–७६ को दुई महिनामा जिल्ला प्रशासन कार्यालयबाट एक हजार २९६ सिफारिश भएका राहदानीमध्ये ९१५ जनाले बनाएका छन् । यस्तै इलाका प्रशासन कार्यालय बाणगङ्गाबाट दुई महिनामा ४८ अाेटा द्रुत राहदानी वितरण भएको छ ।
गत भदौ १५ गतेदेखि राहदानी वितरण गर्ने काम शुरु गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले अहिलेसम्म द्रुत राहदानी १० थान वितरण गरेको छ । पछिल्लो दुई महिनामा मासिक सरदर एक हजार २०० सयभन्दा बढीले राहदानी बनाएका छन् । तीन अाेटै निकायवाट आर्थिक वर्ष २०७४–७५ मा ६ हजार ५९६ सिफारिश भएका राहदानी फाराममध्ये ६ हजार १२१ जनालाई राहदानी वितरण गरिएको छ । कपिलवस्तुबाट राहदानी बनाउनेहरु अधिकांश वैदेशिक रोजगारमा जानेहरु भएको जिल्ला प्रशासन कार्यालय तौलिहवाका प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए । राहदानी बनाउनेमध्ये सबैभन्दा बढी खाडी मुलुक साउदी अरब र कतारमा रोजगारीका लागि गएको पाइएको छ ।
चालू आवमा नागरिकता बनाउनेको सङ्ख्या ह्वातै बढेको छ । आव २०७५–७६ को दुई महिनामा जिल्ला प्रशासन कार्यालयले चार हजार ३०० नागरिकता वितरण गरेको छ । यसैगरी दुई महिनामा इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट ६६४ र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक हजार १९९ थान वितरण भएको छ । दैनिक शुक्रबारबाहेक जिल्ला प्रशासन कार्यालयबाट ७०, इप्रका वाणगङ्गाबाट आठदेखि १० सम्म र इप्रका चन्द्रौटाबाट १५ देखि २० सम्म नागरिकता र राहदानी वितरण भइरहेको अधिकृत खनालले जानकारी दिए । पछिल्लो वर्ष वैदेशिक रोजगारीका लागि राहदानी बनाउने महिलाको सङ्ख्या बढिरहेको छ । रासस