एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेको बताउँदै आफूहरु त्यहीअनुसारको रणनीतिका साथ मैदानमा उत्रने बताए ।

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्यान्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेको बताउँदै आफूहरु त्यहीअनुसारको रणनीतिका साथ मैदानमा उत्रने बताए ।

यसअघिका खेलमा पनि नेपालले थाइल्यान्डविरुद्ध राम्रो नतिजा निकाल्न सकेको छैन । प्रतियोगिता अगाडि थाइल्यान्डले उत्तर कोरिया, मेक्सिको र चीनसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेल शुक्रबार भारतसँग र समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग कात्तिक ११ गते आइतबार खेल्नेछ ।

समूह ‘बी’मा नेपालसहित थाइल्यान्ड, भारत र पाकिस्तान छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् । एएफसी यू–१९ महिला च्याम्पियनसिप अर्को वर्ष थाइल्यान्डमै आयोजना हुनेछ । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् । रासस