मुटुरोग पीडितलाई मिजार समाजद्वारा सहयोग

शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहेकी १३ वर्षीया मिजारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले म्याग्दीस्थित मिजार समाजले २० हजार १५५ रूपैयाँ सहयोग गरेको हो ।

मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहेकी १३ वर्षीया मिजारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले म्याग्दीस्थित मिजार समाजले २० हजार १५५ रूपैयाँ सहयोग गरेको हो ।

बुधबार बेनीमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष सुकलाल किसानले पीडित मिजार र उनका आमा नैना मिजारलाई सो रकम प्रदान गरे ।

आफन्तको सहयोग र चन्दा सङ्कलन गरी शल्यक्रिया हुँदैआए पनि नियमित रूपमा अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने भएकाले राहतका लागि सहयोग गरिएको अध्यक्ष किसानले बताए ।

घरमुली बुबाको निधन भएको र आमासमेत अपाङ्गता रहेका कारण सपनाको नियमित उपचारमा समस्या भएकाले थप सहयोगका लागि समाजले आह्वान गरेको छ । सपना घरपरिवारकी जेठी छोरी हुन् । उनका दुई भाइ छन् । शल्यक्रियापश्चात् उनको अवस्था सामान्य रहे पनि एक वर्षसम्म हरेक महिना अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने सल्लाह चिकित्सकले दिएको सपनाकी आमा नैना मिजारले बताइन् ।