अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे ।

गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे । उनले भने, “विदेशीले नेपाल टेक्ने वित्तिकै हुने उसको पहिलो अनुभव महत्वपूर्ण हुन्छ । पहिलो अनुभव नै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन । साथीलाई पनि नजान सुझाव दिन्छ । तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर काम गर्नुहोस् । ”

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकाले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए ।

उनले भने, “यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी छ । पहिलो राष्ट्रिय सुरक्षाको, दोस्रो देशको अर्थतन्त्रको विकासको र तेस्रो मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ ।’

आगामी वर्षलाई अध्यागमन वर्षको रुपमा मनाउने प्रस्ताव आएको भन्दै त्यसबारे सकारात्मक निर्णय लिन मन्त्रालय तयार रहेको गृहमन्त्री थापाले स्पष्ट पारे । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै अध्यामगनलाई थप व्यवस्थित बनाउन निर्देशन दिए ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडान गर्न काम अघि बढिसकेको जानकारी दिँदै छ महिनाभित्र अध्यागमन प्रणालीलाई थप आधुनिक प्रविधिमार्फत काम गर्ने गरी प्रक्रिया अघि बढेको बताए । सो क्रममा गृहमन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन गरेका थिए । रासस