अभिड ट्राभलर:शेखर गोल्छा

लेट्स गेट इन्टु अ रुम । ढोका खोल्नेबित्तिकै अगाडि एउटा ठूलो ग्लोब छ, कोठाको देब्रे कुनामा सिसाको सानो टेबलमा । ग्लोब भएकैतिरको ठीक अगाडि दाहिने किनारमा एउटा लामो टेबल छ । टेबलमा दुईओटा कलम र एउटा नोटबुक छ ।

लेट्स गेट इन्टु अ रुम ।
ढोका खोल्नेबित्तिकै अगाडि एउटा ठूलो ग्लोब छ, कोठाको देब्रे कुनामा सिसाको सानो टेबलमा । ग्लोब भएकैतिरको ठीक अगाडि दाहिने किनारमा एउटा लामो टेबल छ । टेबलमा दुईओटा कलम र एउटा नोटबुक छ । पख्नुस्, यति नै कोठाको पूर्ण विवरण होइन । कोठामा जे छ, त्यो ठीक यो कुर्सीको पछाडि छ । कुर्सीपछाडि छन्, तीन साना मूर्ति हवाइजहाज, हात्ती र मोटरसाइकल । यो कुर्सीको दाहिनेतिर छ– एउटा कालो सोफासेट । त्यसको देब्रे छेउमा छ, पानीजहाज । मानौँ, यो कुनै समुद्रमा ‘उडान’ गर्न तयार छ ।
यतिमात्र होइन, सोफा सेटअगाडिको टी–टेबलको तल्लो तख्तामा छन् सवारीसाधन– मोटरसाइकल, मोपेड, अटो र फोर ह्विलर ।
एउटा यस्तो कोठामा पुग्दा कसलाई लाग्दैन होला, यो कुनै यात्रीको कोठा हो, जो विश्वभर घुमिरहन्छ ।

तर होइन, यो यात्रीको भन्दा फरक पहिचानमा स्थापित व्यक्तिको कोठा हो । उनी हुन्– व्यवसायी शेखर गोल्छा । व्यवसायमा नाफा–घाटाको हरहिसाब गरिरहेका शेखरको फरक पाटोचाहिँ के हो भने उनी ‘अभिड ट्राभलर’ पनि हुन्; उनले विश्वका ५० देश घुमिसकेका छन् ।

र, उनको यो घुमन्ते बानी ‘विद्रोह’ले जन्माएको हो । त्यसो त शेखर घुम्नका लागि विदेशमात्र छान्दैनन् । उनी काठमाडौँवरपर वा नेपालका कुनै पनि ठाउँका चिया पसलमा भेटिन सक्छन्, त्यहाँका स्थानीयसँग कुराकानी गर्दै ।

‘त्यस्ता भेटमा चाहिँ म आफ्नो परिचय दिन्नँ,’ त्यही कोठाको सोफा सेटको सिङ्गल सोफामा बसेका शेखर मुस्कुराए, ‘परिचय नदिई कुरा गर्छु, त्यसमा मलाई रमाइलो लाग्छ । फेरि अर्को ठाउँमा म त्यहाँ गएको कुरा भन्दा पनि भन्दिनँ ।’ यस्ता गल्लीहरुमा शेखर साइकलमा पुग्छन् । साइक्लिङ उनको मुख्य हबी हो ।

त्यसो त शेखरलाई ड्राइभिङले पनि खुबै आनन्द दिन्छ । उनी अमेरिकाको इस्ट कोस्टदेखि वेस्ट कोस्टसम्म, युरोपका गल्लीहरुमा ड्राइभिङ गरेर निस्फिक्री घुमेका छन् । तर, शेखर यस्ता घुमघामका तस्बिर हत्तपत्त सामाजिक सञ्जालमा राख्दैैनन्, पब्लिक फोरममा सेयर पनि गर्दैनन् ।

किनकि, शेखर ‘डुएल लाइफ मोड’मा छन् । घुम्न निस्किँदा उनको लाइफ मोड हो– प्राइभेट । जब उनी त्यहाँबाट फर्किन्छन्, तब उनको मोड स्वतः पब्लिकमा फर्किन्छ । ‘म प्राइभेट र पब्लिक फेस मिसाउन चाहन्नँ,’ उनी प्रस्ट छन्, ‘एफएनसीसीआईले दिएको पब्लिक फेस र मेरो व्यक्तिगत जीवनशैलीको अनुभव फरक छ, त्यसलाई त्यसरी नै मेन्टेन गर्न चाहन्छु ।’ त्यसैले त उनले अहिलेसम्म डेडसीको किनारमा पढेर बसेको फोटो, बेरुतमा हाइकिङ गरेको फोटो सार्वजनिक गरेका छैनन् । तर, यसको अर्थ यो होइन, उनले यी तस्बिर आफूसँग पनि राखेका छैनन् । उनी त बारम्बार यी फोटो हेरेर फेरि ती ठाउँ पुग्छन्, त्यही कोठाको कुर्सीमा बसिरहँदा पनि । बाहिर प्रदर्शन नगरे पनि अन्टार्टिका पुगेको, अफ्रिकामा गरेको ट्रेक, माउन्ट किलिमान्जरोको आरोहण गरेको आदि तस्बिर उनको अर्काइभमा अहिले पनि सुरक्षित छन् ।

 

शेखरलाई यस्ता हबी पूरा गर्न उनको ‘इगो’ले नै साथ दियो । यो शेखर कलेज पढ्दाको समय हो । उनले त्यतिबेला सोचे– म घरबाट पैसा माग्दिनँ, आफै काम गरेर आफ्नो खर्च जोहो गर्छु ।

त्यसपछि उनी काम गर्न एउटा मार्केटिङ कम्पनीमा पुगे । सोचेजस्तै उनलाई एउटा टायरभित्रको कपर बेल्ट बनाउने कम्पनीले ‘हायर’ ग¥यो । ‘यो किनिदिनुस् भन्दै म युरोपका गल्लीगल्ली पुग्नुपथ्र्यो,’ उनी त्यही समयमा फर्किन्छन्, ‘एउटा हातमा स्टेयरिङ हुन्थ्यो, अर्को हातमा नक्सा । त्यतिबेला जीपीएस हुँदैनथ्यो, नक्साका भरमा गल्लीहरुमा पुग्दा रमाइलो लाग्थ्यो ।’ उनी त्यसका लािग फ्रान्स, स्विट्जरल्यान्ड, जर्मनी, बेल्जियमका गल्लीहरुमा पुग्थे ।

‘म पोस्टम्यान कम मार्केटर थिएँ,’ उनी भन्छन् । १० वर्षअघि इस्ट कोस्टदेखि वेस्ट कोस्टसम्म गाडी हाँकेर घुमेका शेखर पछिल्लो समय स्टेयरिङमा नबसेको चाहिँ निकै भइसकेको छ । ‘शनिबार त चलाउँछु तर जाम,’ शेखर केही समय रोकिए र सानो आवाजमा भने, ‘उफ् जाम !’
काठमाडौँको सेन्ट जेभियर्समा पढेर भारतमा ग्य्राजुएसन सकेका शेखर युरोप पुगे । त्यहाँ उनले काम गरेर आफ्नो पकेट खर्च जुटाउन थाल्दा यता परिवारलाई उनको यो बानीको खासै ‘मतलब’ भएन । अहिले उनका छोरा पनि बाबुकै पाइला पछ्याउने प्रयासमा छन् र यताबाट शेखरले त्यसलाई सहज मानेका छन् ।

‘मेरो स्वाभाव परिवारलाई थाहा थियो,’ उनी फेरि लामो हाँसो हाँसे, ‘म विद्रोही स्वभावको मान्छे हुँ, अ रिबेल ।’
उनले ग्य्राजुएसन सकेपछि बुवालाई अनुरोध गरेका थिए, ‘मेरो एउटा इच्छा पूरा गरिदिनू न ।’ उनको यो इच्छा थियो, विश्वका विभिन्न देश पुग्ने । बुवाले यो कुरा मानेपछि उनको मनमा खेलेको थियो– अब यसरी घुम्न जाँदा कुनै एक ठाउँमा गएर म रोकिन्छु होला अनि फर्किन्नँ ।

तर, शेखरले जे सोचेका थिए, त्यो भएन । बरु जे सोचेका थिएनन्, उनको जीवनमा त्यस्ता शृङ्खलाहरु थपिँदै गए ।

यो शृङ्खलामा पहिलो एपिसोड हुन सक्छ, उनको नेपालबाट घुम्न जाने र विदेशतिरै बस्ने योजना । आखिर उनको त्यो योजना सफल भएन । तर, अहिले अरु कैयौँ योजना सफल बनाएर उनी सफलताको शिखरमा बसिरहेका छन् । तर, त्यतिबेला किन नेपाल नफर्किने योजना बनाएका थिए त शेखरले ?
हाम्रो बसाइमा उनले यसको प्रत्यक्ष उत्तर दिएनन् । तर, कुराको अन्त्यसम्ममा अनुमान गर्न गाह्रो भएन, उनको मिड ट्वेन्टिज स्वभाव नै त्यस्तो थियो । र, सँगै उनले भने, ‘घरमा मेरो प्रेम सफल हुन दिइँदैन होला पनि लाग्यो ।’
शेखरले आफूलाई प्राइभेट लाइफको मोडमा लगे ।

‘बुवाले मलाई राम्रोसँग बुझ्नुभएको रहेछ,’ उनले भने, ‘मैले सोचेजस्तो उहाँले मेरो विवाहमा पनि अल्झन क्रियट गर्नुभएन ।’
त्यसपछि उनी फेरि जीवनलाई नै मोडिदिन सक्ने त्यो यात्राबारे कुरा गर्नतिर लागे ।

‘सुरुमा म कराँची गएँ,’ उनले भने, ‘त्यहाँ १५ दिन बसेँ ।’ कराँची र आफ्नो ‘टेम्पो’ नमिल्ने थाहा पाउन उनलाई दुई सातामात्र लागेको थियो । त्यहाँबाट तेहरान पुगेका शेखरले त्यहाँ पनि आफूलाई खुलाउन सकेनन् । यो सन् १९८० को दसकको अन्तिम समयको कुरा हो । इरानमा युद्ध चलिरहेको थियो, त्यसैले पनि लामो समय त्यहाँ रहन सकेनन् । त्यहाँबाट उनी सोझै लन्डन पुगे । त्यहाँ एमबीए पढ्न भर्ना मात्र भएनन्, काम खोजेर आफ्नो जीविका आफै गर्न पनि थाले ।

शेखर लन्डन बस्दा ‘होमसिक’ भएनन्, त्यसैले पनि उनले नेपाल फर्किनेबारे सोचेनन् । तर, सँगै पढ्ने र स्यान्यो कम्पनीमा काम गर्ने साथीको अनुरोधमा उनी जापानसम्मचाहिँ आइपुगे । सायद जापानसम्म नेपाली हावा पुगेको हुनुपर्छ, शेखरले त्यहाँबाट अरु देश जाने सोच्न पनि सकेनन्, नेपाल फर्किए ।
नेपाल फर्किएपछि पनि उनको ‘विद्रोही’ र केही नयाँ ‘इनोभेसन’ गर्नुपर्छ भन्ने सोच फेरिएन । यही सोचकै कारण उनले पुख्र्यौली व्यवसायमा हात हालेनन् । र, आफ्नो व्यवसायको बाटो छाने– टेलिभिजन व्यवसाय । त्यतिबेला नेपालमा टीभी हेर्ने परिवार अत्यन्त कम थिए । सानो बजार भए पनि शेखरले यो व्यवसायमा आफ्नो महङ्खवाकाङ्क्षालाई अगाडि बढाए । तर, यसमा पनि उनले सोचेजस्तो भएन ।

‘दाइहरु खाद्यान्नको व्यवसाय गर्नुहुन्थ्यो,’ उनले ती दिन सम्झिए, ‘उहाँहरुको करोडौँको व्यापार भइरहेको थियो । तर, मैले पैसालाई मात्र हेरिनँ, केही गरौँ भन्ने आफ्नो चाहनालाई अगाडि बढाइरहेँ ।’

अहिले शेखर यही कुरामा गर्व गर्छन् । ‘मैले ट्रेन्ड चेन्ज गर्न प्रयास गरिरहेँ,’ उनी भन्छन्, ‘अहिले मोबाइल किन्दा फुल बिल पाउनु, टीभीलगायत इलेक्ट्रोनिक्स सामानमा वारेन्टी पाउनु र यो बजारलाई ट्रान्सफर्म गर्नुमा मेरो त्यो बेलाको लहडको योगदान छ भन्न पाउँदा मलाई गर्व लाग्छ ।’
यो कुरा गरिरहँदा शेखरको अनुहारमा परिवर्तन देख्न सकिन्थ्यो, उज्यालो हुँदै गएको उनको अनुहारको भावलाई उनले शब्दमा भने, ‘म मोटरसाइकलको वर्कसपमा गएर आफै बसेँ, ग्राहकका समस्याबारे बुझ्न चाहेँ र नेपालभर सर्भिस स्टेसनको नेटवर्क बनाउन लागेँ ।’ उनको यो चाहनाको प्रतिफल हो, अहिले नेपालका कुनाकुनामा पनि बाइकका पार्ट्स सजिलै पाइनु । आफ्नो यही मेहनतका कारण मोटरसाइकलमा बजाज नेपालको ‘नम्बर वान ब्रान्ड’ बन्न सकेको उनको अनुभव छ । बजाज छिमेकी देश भारतमा भने चार नम्बरको ब्रान्डमा दरिन्छ ।

व्यवसायमा जसरी शेखर सूक्ष्म रुपमा अध्ययन गर्छन् र एउटा सिस्टम विकास गर्नुपर्ने कुरामा विश्वास गर्छन्, त्यसरी नै उनी घुमघाममा विभिन्न ठाउँको संस्कृति र विश्वासलाई गहिराइमा अध्ययन गर्छन् । ‘अनि विश्वको यो विविधतालाई एप्रिसियट गर्न नसक्ने हो ठूलो समस्या हुन्छ,’ उनी विचार पोख्छन् ।

 

हामी कुराकानी गर्न बसेपछि झन्डै दुई घन्टामा शेखरलाई तीनपटक फोन आयो । उनले छिटोछिटो ती फोन कन्भर्सेसन टुङ्ग्याए । कुराकानी गर्दागर्दै हामी पहिले तय भएको भन्दा झन्डै एक घन्टा बढी बसिसकेका थियौँ । निस्किने समयमा मैले कोठाको दाहिने कुनामा राखिएको ग्लोबमा आँखा पु¥याएँ । त्यो ठूलो ग्लोबको अग्रभागमा रुसको नक्सा देखिएको थियो । सायद, गोल्छाको अबको डेस्टिनेसन रुस हो ।

कोठाबाट निस्कनुअघि मैले शेखरलाई भनेँ, ‘तपाईं समयबारे अत्यन्त सेन्सेटिभ हुनुहुन्छ रे, दुई मिनेट ढिला हुँदा पनि रिसाउनुहुन्छ रे ।’ हामी भेटेपछि सातौँपटक उनी दिल खोलेर हाँसेका थिए, ‘ठ्याक्कै त्यस्तो पनि होइन ।’

हामी ढोकाबाहिर पुग्दा उनलाई भेट्न कोही आइसकेको थियो, पर्खिएको पनि लामै समय भएको हुनुपर्छ । मैले पछाडिबाट आएको आवाज सुनेँ, ‘सरी, निकै बेर पर्खाएँ ।’

म अगाडिको ढोकाबाट बाहिर निस्किनसक्दै पछाडि ढोका लागेको आवाज आयो । ढोकाबाट छिर्नेबित्तिकै शेखरले पक्कै त्यही ग्लोब देखे र मनमनै एकपटक फेरि विश्व सयर गर्नतिर लागे ।