बजेटमाथि १० व्यवसायीकाे मूल्याङ्कन : पूर्णाङ्क १० मा कसकाे कति ?

आगामी आर्थिक वर्षकाे बजेटमा १० व्यवसायीहरूले औसतमा बजेट राम्राे आएकाे प्रतिक्रिया दिएका छन् । उनीहरूले न्यूनतम ६ र अधिकतम ९ अङ्कसम्म दिएका छन् । यसकाे अर्थ बजेटलाई व्यवसायीहरूले प्रथम श्रेणीमा उत्तीर्ण भएकाे मानेका छन् ।

उपेन्द्र महतो
संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ

विगतको तुलनामा आगामी आर्थिक वर्षको बजेट एकदमै राम्रो छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । निर्यातलाई बढावा दिएको छ । बजेटले मध्यम आय भएका व्यक्तिलाई पनि केही राहत दिएको छ । त्यसैले यो बजेटलाई १० मा ९ दिन्छु ।

राजेन्द्र खेतान
अध्यक्ष, खेतान ग्रुप

बजेटलाई वित्तीय नीति मान्ने चलन छ । खासमा बजेट त्यस्तो होइन । राज्य सञ्चालन गर्न र त्यसको खर्च उठाउने एउटा प्रक्रिया हो । तर पनि नेपालमा बजेटलाई अनेक कोणबाट हेरिन्छ । आगामी आर्थिक वर्षको बजेट बृहत् छ र धेरै कुरालाई समेटेको छ । स्वास्थ्य, पूर्वाधार, शिक्षा, सेयरबजारलाई हौसला प्रदान गरेको छ । त्यसैले यो बजेटलाई १० मा ७ नम्बर दिन्छु ।

पशुपति मुरारका
अध्यक्ष, मुरारका अर्गनाइजेसन

बजेटबाट आशा पलाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले जे कुरा पढ्नुभयो, त्यसले निराश हुनुपर्ने ठाउँ छैन । तर, कार्यान्वयन पक्ष कस्तो रहन्छ भन्ने हो । यो बजेटबाट देशमा केही गर्न खोजेको जस्तो देखिन्छ । बजेटले उत्पादनमूलक तथा कृषिजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । तर, यसलाई कार्यान्वयनमा सरकारले विशेष जोड दिनुपर्छ । म यो बजेटलाई १० मा ७ दिन्छु ।

चन्द्रप्रसाद ढकाल
अध्यक्ष, आईएमई ग्रुप

बजेट एकदमै राम्रो आएको छ । फरक यति हो, कार्यान्वयनको पाटो हेर्न बाँकी छ । राजस्व तथा करका दरलाई खासै चलाएको पाइएन । निर्यातलाई प्रोत्साहन गरेको छ । सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य शिक्षालाई उच्च प्राथमिकतामा राखेको पाइयो । यो राम्रो कुरा हो । समग्रमा सबैको मन जित्ने बजेट आयो । म १० मा ९ दिन्छु ।

पवन गोल्यान
अध्यक्ष, गोल्यान ग्रुप

अहिलसम्मका अर्थमन्त्रीले राजस्वलाई छोडेर उत्पादनमूलक उद्योगलाई जोड दिएको देखेको थिइन । तर, डा. युवराज खतिवडाले त्यो आँट गर्नुभएको छ, सबैभन्दा राम्रो पक्ष यही हो । निर्यात बढाउन पहल गरेको देखिन्छ । कच्चा पदार्थ र तयारी वस्तुको आयातमा पनि केही फरक राख्नुभएको छ । तर, पनि केही नराम्रा कुरा राखिएका छन्, जस्तो रासायनिक मलको अनुदान ९ अर्ब रुपैयाँ पु¥याउनु भयो, जुन राम्रो भएन । त्यसबाहेक अन्य कुरा राम्रा छन्, अब कार्यान्वयन कति हुन्छ त्यो हेर्न बाँकी छ । अहिलेको बजेटलाई हेरेर म १० मा ८ दिन्छु ।

शेखर गोल्छा
प्रवन्ध निर्देशक, गोल्छा अर्गनाइजेशन

बजेट निकै राम्रो आएको छ । बजेटले बैङ्क मर्जरदेखि सेयरबजार समेत बढाउने गरी आएको छ । भोलिका दिनबाट सेयरबजारले आफ्नो गति समाउने अवस्था आउँछ । त्यसैगरी, स्वदेशी उद्योग (जुत्ता, धागोलगायत)लाई सरकारले प्रोत्साहन गरेको छ । जुन अत्यावश्यक थियो । त्यसैगरी कच्चा पदार्थ र तयारी वस्तु आयातमा एक तहको ग्याप पनि गरेको छ, त्यो पनि सराहनीय छ । त्यसैले यो बजेटलाई १० मा ८ अङ्क दिन्छु ।

कमलेश अग्रवाल
वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

सुन्दा बजेट एकदमै राम्रो छ । सरकार राजस्वमुखीभन्दा पनि उत्पादनमूलक उद्योगलाई अघि बढाउन चाहन्छ भन्ने देखिएको छ । बजेटबाट उद्योगी व्यवसायीले आश गर्ने ठाउँ छ । राजस्वका दरमा पनि खासै परिवर्तन गरिएको छैन । तर, पनि आयकरको सीमा बढाएर मध्यमवर्गीय आय भएकालाई केही राहत दिएको छ । त्यसले यो बजेटलाई १० मा ७ दिन्छु ।

हरि न्यौपाने
अध्यक्ष, अम्बे ग्रुप

आर्थिक ऐन हेर्न पाइएको छैन । अर्थमन्त्री खतिवडाले बजेट बढेकै आधारमा मूल्याङ्कन गर्ने हो । अर्थमन्त्रीले पढेको कुरालाई आधार मान्दा बजेटले धेरै निराश बनाउने काम गरेको छैन । भन्सार उठाउनेभन्दा पनि देशभित्र औद्योगिक वातावरण बनाउनेतर्फ बजेट लक्षित छ । करका अनुसूचीहरु के कति परिवर्तन भएका छन्, त्यो हेरेपछि मात्रै थाहा हुन्छ । तर, खतिवडाकै भाषणलाई आधार मान्दा यो बजेटलाई १० मा ७ अङ्क दिन्छु ।

शम्भु दाहाल
निर्देशक, सिप्रदी

बजेटमा निराशा हुने धेरै ठाउँ छैन । अर्थमन्त्री खतिवडाले स्वदेशमै उद्योगको वातावरण बनाउने गरी बजेट ल्याएका छन्, कार्यान्वयन कति हुन्छ, त्यो हेर्न बाँकी छ । राजस्वका दरमा पनि खासै परिवर्तन गरेका छैनन्, बरु निर्यातलाई प्रोत्साहन गर्ने नीति अङ्गीकार गरेका छन् । त्यो राम्रो कुरा हो । राजस्वमा धेरै लोभ गरेजस्तो पाइएन, त्यो पनि सकारात्मक पक्ष हो । त्यसैले यो बजेटलाई १० मा ८ दिन्छु ।

प्रवलजङ्ग पाण्डे
निर्देशक, लोमस ग्रुप

समग्रमा कुरा गर्दा बजेट त्यति नराम्रो छैन । तर, सामाजिक सुरक्षा, कर्मचारीको तलबवृद्धिले सरकारलाई आर्थिक भार पर्ने देखिन्छ । त्यसबाहेक आयकरको सीमा पनि एकदमै कम मात्रै बढाइयो । कम्तीमा पनि ६ लाख रुपैयाँसम्म पु¥याउनुपर्ने थियो । त्यसैले यो बजेटलाई १० मा ६ अङ्क दिन्छु ।