‘गैरव्यावसायिक काम गर्ने प्रहरी गधा हुन्’ एसएसपी सुवेदी

प्रहरी प्रधान कार्यालय नक्सालमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्मराज सुवेदीले सङ्गठन सुधारको योजना थालिएको बताएका हुन्।

केही समयदेखि प्रहरी सङ्गठनको आलोचना भइरहेकाले सङ्गठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्मराज सुवेदीले सङ्गठन सुधारको योजना थालिएको बताएका हुन्।

एसएसपी सुवेदीले सङ्गठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै सङ्गठनको बदनाम हुने वातावरण सृजना भएको दाबी गरे। एसएसपी सुवेदीले भने,’एक अमुक व्यक्तिको गल्तीले सङ्गठन नै बदनाम हुने अवस्था आयो। व्यक्तिको गल्तीलाई सङ्गठनले गरेको गल्तीको रूपमा नहेर्दिनु होला।’

एसएसपी सुवेदीले संगठन नै बदमास नभएर व्यक्ति मात्र बदमास भएको भन्दै सङ्गठनको बचाउ गरेका थिए। ३३ किलो सुन प्रकरण, निर्मला हत्याकाण्ड लगायत विषयमा प्रहरी आलोचित हुँदै आएको छ। सङ्गठन भित्र रहेर कुनै व्यक्तिले गलत गरे त्यस्ता व्यक्तिलाई कारबाही गरिने एसएसपी सुवेदीले बताए।

गैरव्यावसायिक काम गर्ने प्रहरी कर्मचारीलाई गधाको संज्ञा दिँदै त्यस्ता व्यक्तिलाई हटाइने एसएसपी सुवेदीले बताए। एसएसपी सुवेदीले भने, ‘सङ्गठनभित्र छिरेका सबै गधा गाई नहुन सक्छन्, गधाको रूपमा छिरेका व्यक्तिलाई सङ्गठनले लुकाउने छिपाउने गरेको छैन। गधाको पहिचान गरी हटाइएको छ। कारबाही भएका छन्।’