no-image

सरकारको घोषित कार्यक्रममार्फत् नै नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न सय ओटा नयाँ गन्तव्यको पहिचान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ । सरकारको घोषित कार्यक्रममार्फत् नै नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न सय ओटा नयाँ गन्तव्यको पहिचान गरेको हो ।

ती गन्तव्यहरुमा आवश्यक पूर्वाधार विकास कार्यक्रम लागू हुने मन्त्रालयको भनाइ छ । ‘पहिला देश अनि विदेश’ भन्ने नारा ल्याएको सरकारले नेपालकै नयाँ गन्तव्यहरुको पहिचान गरी प्रचार प्रसार गर्ने तयारी गरेको छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजना छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपालका पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ गन्तव्यहरुको पहिचान गरिएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यका लागि सार्वजनिक सूचना जारी गरेको थियो । आफ्नो क्षेत्रमा रहेका गन्तव्यहरुको प्रचार प्रसार र प्रवर्द्धनका लागि पर्यटन बोर्डले नयाँ गन्तव्यको तथ्याङ्क माग गरेको थियो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सूचीमा उल्लेख भएका नयाँ विकास गर्नुपर्ने गन्तव्यहरुमा चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाँट गरिने बताए । साथै स्थानीय निकायहरुसँग समन्वय गरेर पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यहरुको विविधीकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।