नेवानिको चीन उडान टुङ्गो १० दिनभित्र

केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणका क्रममा वायुसेवा निगमको जहाजमार्फत गएकी थिइन् । निगमको जहाजमार्फत राष्ट्रपतिको चीन भ्रमणलाई पनि त्यहाँ नेपाली जहाज उडान गर्ने पहिलो खुट्किलाका रुपमा लिइएको थियो ।

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को चीन उडानका विषयमा १० दिनभित्रमा टुङ्गो लाग्ने भएको छ । वाइडबडी खरिद गरेको १ वर्ष हुँदासमेत नेवानिले नयाँ गन्तव्यमा उडान गर्न सकिरहेका छैन ।

नेपालको तर्फबाट आवश्यक कागजपत्र पठाइसकेको र सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइनाबाट अनुमति आउनेबित्तिकै उडान सुरु गर्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । अनुमति दिन ढिलाइ भएपछि निगमले चीनका लागि नेपाली राजदूत लीलामणि पोखरेलमार्फत कूटनीतिक पहल थालेको थियो ।

केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणका क्रममा वायुसेवा निगमको जहाजमार्फत गएकी थिइन् । निगमको जहाजमार्फत राष्ट्रपतिको चीन भ्रमणलाई पनि त्यहाँ नेपाली जहाज उडान गर्ने पहिलो खुट्किलाका रुपमा लिइएको थियो ।

निगमले चीनको गोन्जाओमा उडान गर्न बेइजिङ लङवे इन्टरनेसनल ट्राभल सर्भिसलाई जीएसए नियुक्त गरिसकेको छ । पछिल्लो समय चीनबाट धेरै पर्यटक नेपाल आउने र नेपालबाट पनि चीन जानेको सङ्ख्या बढिरहेको बेला निगमले उडान गर्न खोजेको हो ।

चीनका अन्य विमानस्थलमा उडान गर्न अनुमति दिन तयार रहे पनि निगमले बेइजिङकै लागि तयारी गरेकाले ढिलाइ भएको खरेलको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन ७ र ८ गते चीनमा हवाई सम्झौता पुनरवलोकन गर्न लागेको छ । समझदारीपछि नेपालले कुनकुन विमानस्थलमा उडान गर्ने र चीनले नेपालका कुनकुन विमानस्थलमा उडान गर्ने भन्ने टुङ्गो लगाउनेछ ।