पाइलटलाई तालिम दिन वायुसेवा निगमले पायो एयर ट्रान्सपोर्ट अपरेटिङ लाइसेन्स, ५५ हजार डलर बचत हुने

करिब ६ महिनादेखि चार वटै वाई १२ जहाज ग्राउन्डेड छन् । वाई १२ जहाज उडाउँदै आएका २ जना पाइलट नीपेन्द्र भट्टराई र सञ्जयवादे श्रेष्ठ निगमलाई अटेर गरी जहाज नउडाई बसेका छन् । उनीहरुले निगमबाट भने नियमित रूपमा तलब भने बुझ्दै आएका छन् ।

काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलो पटक एयर ट्रान्सपोर्ट अपरेटिङ (एओटी) लाइसेन्स पाएको छ । नेपालमै पाइलटहरुलाई तालिम दिने उद्देश्यले निगमले सो लाइसेन्स लिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा आवेदन दिएको थियो ।

क्यानबाट एओटीको लाइसेन्स पाएसँगै दुई जना पाइलटलाई तालिम दिन सुरु गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । सो तालिम नेपालमा पहिलो पटक दिन लागिएको र यसबाट निगमलाई १ पाइलटबाट करिब ५५ हजार डलर बचत हुने उनले बताए । तालिम लिन विदेशमा ७० हजार डलर पर्छ भने नेपालमा १५ हजार डलरमै हुने भएको हो ।

पाइलटको निरीक्षकका रुपमा आङनुरी शेर्पा नियुक्त भइसकेका छन् । उनी केही समयअघि अमेरिकामा गए पनि निगमले पुनः उनलाई निरीक्षकका रुपमा ल्याएको हो । प्रशिक्षक शेर्पाले एओटीमार्फत तालिम दिनेछन् । उनले तत्कालका लागि वाई १२ जहाज सञ्चालनका लागि क्याप्टेन केबी लिम्बू र क्याप्टेन फिजोनाथ नेपालीलाई तालिम दिँदै छन् । करिब १५ दिनको तालिमपश्चात् ती दुई क्याप्टेनहरुले वाई १२ जहाज उडाउनेछन् । उनीहरु निगमको पूराना र रिटायर्ड क्याप्टेन हुन् ।

करिब ६ महिनादेखि चार वटै वाई १२ जहाज ग्राउन्डेड छन् । वाई १२ जहाज उडाउँदै आएका २ जना पाइलट नीपेन्द्र भट्टराई र सञ्जयवादे श्रेष्ठ निगमलाई अटेर गरी जहाज नउडाई बसेका छन् । उनीहरुले निगमबाट भने नियमित रूपमा तलब भने बुझ्दै आएका छन् ।

निगमका अध्यक्ष खरेलले ती दुई जना पाइलटका असन्तुष्टिबारे सम्बोधन गर्न तयार रहे पनि उनीहरु काममा नफर्किएको बताए । ‘उहाँहरुको समस्या समाधान गर्न तयार छौं, कति माग पूरा गरिसक्दा पनि काममा फर्कनुभएको छैन,’ अध्यक्ष खरेलले भने । पाइलटको मनपरीका कारण वाई १२ जहाज ग्राउन्डेड हुँदै आएको उनको भनाइ छ ।