भ्रमण वर्षको सुस्त गति

राजनीतिक स्थायित्व एवम् स्थायी सरकार निर्माणसँगै सरकारले महङ्खवाकाङ्क्षी सोचका साथ भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । तर सरकारले जुन उत्साहका साथ भ्रमण वर्ष मनाउन लागिएको हो, त्यही किसिमको तयारी देखिँदैन ।

‘कार्यक्रम असफल भएमा म मात्र हुन्न, आम नेपाली यसको जिम्मेवार हुनुपर्छ ।’
यो अभिव्यक्ति भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यको हो । सार्वजनिक कार्यक्रममा विरलै देखिने संयोजक वैद्यले पहिलो पटक भ्रमण वर्षको सचिवालयमा आयोजित कार्यक्रममा राखेको अभिव्यक्तिपछि हलमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायत विभिन्न सरकारी निकायका कर्मचारी मुखामुख गरेका थिए ।

भूकम्प र नाकाबन्दीले थला परेको नेपालको पर्यटनलाई अझ व्यापकता दिन सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । राजनीतिक स्थायित्व एवम् स्थायी सरकार निर्माण भएसँगै सरकारले महत्वकांक्षी सोचका साथ २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । तर सरकारले जुन उत्साहका साथ भ्रमण वर्ष मनाउन लागिएको हो, त्यही किसिमको तयारी देखिँदैन ।

भ्रमण वर्ष घोषणा गरे पनि राष्ट्रिय संयोजक चयनमा ढिलाइ गरेको सरकारले व्यवसायी वैद्यलाई संयोजक बनाएसँगै केही विरोध सुरु भएका थिए । विशेषगरी पर्यटन क्षेत्रमा संलग्न व्यवसायीले पर्यटन क्षेत्रभन्दा बाहिरकालाई संयोजक बनाएको भन्दै सरकारको विरोध गरेका थिए । विरोधका बाबजुत अगाडि बढेका संयोजक वैद्यलाई करिब ६ देखि ८ महिनासम्म सचिवालय खोज्नै लाग्यो । कहीँ पनि सचिवालयका लागि भवन नपाएपछि अन्ततः भूकम्पबाट क्षतिग्रस्त केशर महलमा सचिवालय स्थापना गरेका छन् । तर कार्यालय स्थापना भए पनि पूर्ण रुपमा कर्मचारीहरु पुगिसकेका छैनन् ।

भ्रमण वर्षका लागि गर्ने भनिएका अधिकांश काम अझै हुन सकेका छैनन् । नेपाल पर्यटन बोर्डले तयार गरेको १ सय वटा गन्तव्यबाट २०२० का लागि २० वटा गन्तव्य छनोट गरी आवश्यक पूर्वाधार बनाउने मन्त्रालयको तयारी थियो । तर हालसम्म ती गन्तव्य छनोट भइसकेका छन् ।

अहिले भ्रमण वर्षको कार्यक्रम सुस्त हुनुमा पर्यटनमन्त्रीको अभावलाई पनि अगाडि सारेका छन् । हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि लामो समयसम्म भ्रमण वर्षको कार्यविधि नै मन्त्रिपरिषद्बाट पास हुन सकेको थिएन । कार्यविधि पास नभएका कारण बजेट खर्च गर्न नसकेको र बजेटबिना केही काम गर्न सकिँदैन भन्ने संयोजक वैद्यको अडानका कारण प्रचारमा ढिलाइ भएको मन्त्रालय स्रोतको दाबी छ । मन्त्रालयले भ्रमण वर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्षको अन्तिममा सो रकम खर्च गर्ने कार्यविधि पास भएको छ ।

तर भ्रमण वर्षका लागि गर्ने भनिएका अधिकांश काम अझै हुन सकेका छैनन् । नेपाल पर्यटन बोर्डले तयार गरेको १ सय वटा गन्तव्यबाट २०२० का लागि २० वटा गन्तव्य छनोट गरी आवश्यक पूर्वाधार बनाउने मन्त्रालयको तयारी थियो । तर हालसम्म ती गन्तव्य छनोट भइसकेका छन् । सन् २०२० आउन केही समय मात्र बाँकी रहेकोले अब ती गन्तव्य छनोट भइहालेमा पनि सोचेअनुसारको काम गर्न सक्ने अवस्था देखिँदैन ।

नेपाल पर्यटन बोर्डका उच्च अधिकारीले विगतका भ्रमण वर्षको तयारीको तुलनामा २०२० को काम २० प्रतिशत पनि नभएको बताउँछन् । ‘सन् १९९८ र २०११ को तयारी हेरेर अहिलेको तयारी अत्यन्तै कम छ,’ उनले भने, ‘यस्तै अवस्था हो भने तत्काल भ्रमणको मिति सार्नुको विकल्प छैन ।’

भ्रमण वर्ष २०२० को गन्तव्य तय नभएको नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य बताउँछन् । पहिला आम नेपालीलाई भ्रमण वर्ष किन मनाउन लागिएको हो र यसका एजेन्डा केके हुने भन्ने विषय सार्वजनिक नभएको उनको भनाइ छ । भ्रमण वर्षको नाममा केही व्यक्तिलाई विदेश घुम्न पठाउने र राज्यको रकम खर्च गराउने मात्र भएकाले उपलब्धिहरुका विषयमा पनि स्पष्ट पार्न आवश्यक रहेको संयोजक शाक्यले बताए ।

नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी ट्रेकिङमा जानेहरु छन् । तर पछिल्लो समय स्थानीय तहको नाममा ढाट राखेर पर्यटकबाट शुल्क लिने कामले नकारात्मक सन्देश फैलिएको छ, जसको प्रभाव प्रत्यक्ष रुपमा पर्यटकलाई परेको छ ।

सरकारको अपेक्षाअनुसार भ्रमण वर्षले नतिजा दिने अवस्था नदेखिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाको भनाइ छ । ‘पर्यटक भित्र्याउन ६ महिनामा केही गर्न सकिन्न,’ महासचिव शेर्पाले भने, ‘विदेशीहरुले १ वर्षअघि नै कुन देश घुम्न जाने र कति दिन बस्ने भन्ने टुङ्गो लगाइसकेका हुन्छन् । हालसम्म २०२० मा नेपाल आउने पर्यटकले केके सुविधा पाउँछन् भन्ने टुङ्गो लगाउन सकिएको छैन । यस्तो अवस्थामा हामीले के भनेर उनीहरुलाई नेपाल आओ भनी प्रचार गर्नु ?’
नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी ट्रेकिङमा जानेहरु छन् ।

तर पछिल्लो समय स्थानीय तहको नाममा ढाट राखेर पर्यटकबाट शुल्क लिने कामले नकारात्मक सन्देश फैलिएको छ, जसको प्रभाव प्रत्यक्ष रुपमा पर्यटकलाई परेको छ । यस्तै विभिन्न आरक्षण क्षेत्रमा पर्यटकबाट रकम असुल्ने गरेका कारण पनि नेपाल आउने पर्यटक आजित हुने गरेका छन् । यस्ता समस्या तत्काल समाधान नगरे २०२० मा पर्यटक बढ्नुको साटो झनै कम हुने अवस्था आउने उनको भनाइ छ ।

भ्रमण वर्ष २०२० को योजनै तयार नभएको अल्टिच्युड एयरका प्रबन्ध निर्देशक एवम् पर्यटन व्यवसायी निमानुरु शेर्पाले भनाइ छ । योजनाबिनै मनाउन लागिएको भ्रमण वर्ष सफल हुनेमा आफू विश्वस्त नरहेको उनी बताउँछन् । ‘जसरी सरकारले २० लाख पर्यटक भित्र्याउने भनेको छ, त्यहीअनुसार तयारी देखिँदैन,’ शेर्पाले भने, ‘६ महिनाभित्र कसरी तयार गर्न सकिन्छ ?’ सन् २०१९ को आधा वर्ष सकिइसकेको अवस्थामा प्रचारप्रसार सुस्त भएको उनको भनाइ छ ।

गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले हेलिकप्टरका यात्रु घटेका छन् । पर्यटकीय सिजनमा भ्याइनभ्याई हुने हेलिकप्टर अहिले फुर्सदिला देखिन्छन् । यसमा मुख्य दोषी पर्यटन मन्त्रालय भएको शेर्पाको भनाइ छ । गत वर्ष पर्यटकलाई बिरामी बनाएर फर्जी उद्धार गरेको भन्दै मन्त्रालयले बनाएको छानबिन समितिले तीन ओटा हेलिकप्टर र विभिन्न ट्राभल कम्पनी, अस्पताललाई कारबाहीको सिफारीस गरेको थियो । तर हालसम्म ती कुनै पनि निकायलाई कारबाही हुन सकेको छैन ।

प्रतिवेदनसमेत सार्वजनिक हुन सकेको छैन । शेर्पाका अनुसार फेक रेस्क्यूको विषय नेपालमा सेलाउँदै गए पनि विदेशमा भने ताजै छ । ट्रेकिङ र एडभेन्चरका लागि नेपाल आउने पर्यटकलाई बिमा गर्न अन्तर्राष्ट्रिय बिमा कम्पनीहरुले आनाकानी गरेको कारण धेरै समस्या भएको छ । बिमा गरिहाले पनि चर्को प्रिमियम लिने भएका कारण पर्यटक नेपाल आउनुभन्दा अन्य देश जान थालेको शेर्पाको दाबी छ । त्यसैले भ्रमण वर्ष सुरु हुनुअगावै यस विषयमा मन्त्रालयले गम्भीर भएर सोच्न आवश्यक रहेको उनले बताए ।

सरकारले यसअघि मनाएका दुई भ्रमण वर्षहरु पनि त्यति सफल देखिँदैनन् । सरकारले १९९८ मा ५ लाख पर्यटक भित्र्याउने भने पनि ४ लाख ६३ हजार ६ सय ८४ र सन् २०११ मा १० लाख पर्यटकको लक्ष्य रहेकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्यसमेत रहेका पर्यटन व्यवसायी कृष्ण अर्यालले भ्रमण वर्ष २०२० सरकारले सोचे जस्तो सफल हुनेमा आशङ्का व्यक्त गरे । संयोजक वैद्यको कार्यशैली सुस्त भएको भन्दै यस्तै अवस्था रहिरहे सफल हुने अवस्था नदेखिएको उनको भनाइ छ । जुन उत्साहले सरकारले घोषणा गरे पनि अहिले काम तीव्र नबनेको अर्यालले बताए ।

सरकारले यसअघि मनाएका दुई भ्रमण वर्षहरु पनि त्यति सफल देखिँदैनन् । सरकारले १९९८ मा ५ लाख पर्यटक भित्र्याउने भने पनि ४ लाख ६३ हजार ६ सय ८४ र सन् २०११ मा १० लाख पर्यटकको लक्ष्य रहेकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्याप्त तयारी र पूर्वाधाबिना भ्रमण वर्ष घोषणा मात्र गर्दा यसअघिका अभियानले लक्ष्य हासिल नगरेका हुन् । भूकम्पका बेला २०१५ मा नेपालमा जम्मा ५ लाख ३८ हजार ९ सय ७० पर्यटक भित्रिएका थिए ।

क्यापिटल म्यागजिनबाट