पर्यटकीय नगरी लुक्लाका हरेक घर होटल

होटल व्यवसायी राप्के छिरिङ शेर्पाका अनुसार लुक्लामा एक रातमा दुई हजारभन्दा बढी पर्यटक राख्न सकिन्छ । होटल व्यवसाय नै मुख्य पेशाका रुपमा अँगालेका लुक्लाका स्थानीयले आफ्नै घरलाई होटल बनाएर सञ्चालनमा ल्याएका हुन् ।

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको प्रवेशद्वारका रुपमा परिचित सोलुखुम्बुको लुक्ला बजारमा जति घर छन्, ती सबै होटल हुन् ।

लुक्लामा करिब एक सय घरधुरी छन् । ती सबैमा होटल सञ्चालन गरिएको छ । दैनिक सयौं पर्यटकको आवतजावत हुने सो बजारका सबै घर होटलका रुपमा विस्तार भएका छन् ।

होटल व्यवसायी राप्के छिरिङ शेर्पाका अनुसार लुक्लामा एक रातमा दुई हजारभन्दा बढी पर्यटक राख्न सकिन्छ । होटल व्यवसाय नै मुख्य पेशाका रुपमा अँगालेका लुक्लाका स्थानीयले आफ्नै घरलाई होटल बनाएर सञ्चालनमा ल्याएका हुन् ।

विषेश गरी विदेशी पर्यटक आउने लुक्लामा ठूला होटल दुई ओटा छन् । एभरेष्ट समिट र यति माउन्टेन त्यहाँका सबैभन्दा महँगा होटल हुन् । ती होटलमा एक रातको दुई सय डलरसम्म तिर्नुपर्छ ।

पदयात्री प्रायः लुक्लाबाट हिँड्ने हुँदा वसन्त ऋतुमा त्यहाँ हवाई चाप बढी हुने गर्छ । सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि लुक्ला पुग्ने एक मात्र यातायातको विकल्प भनेको विमान हो ।

सगरमाथा हिमालको प्रथम आरोही सर एड्मन्ड हिलारीले हिमाल आरोहणका सामान ल्याउनका लागि लुक्ला विमानस्थल बनाएका थिए । सन् १९७१ देखि सञ्चालनमा आएको सो विमानस्थल हिलारीको सम्मानमा तेन्जिङ हिलारी विमानस्थलको रुपमा नामकरण गरिएको हो ।

समुन्द्र सतहभन्दा दुई हजार ८ सय मिटरको उँचाइमा रहेको लुक्लामा वर्षेनि हजारौं पर्यटक सगरमाथाको आधार शिविरतिर जाने गर्छन् ।

जनसङ्ख्याका आधारमा त्यहाँ ८ सय ४० जना मात्र मतदाता छन् । त्यहाँका सबै मानिस रोजगारीमा लागेका छन् । त्यहाँ बस्नेहरु प्रायः होटल व्यवसायमा संलग्न छन् भने केही ट्राभल र ट्रेकिङ क्षेत्रमा समेत क्रियाशील छन् । लुक्लाको मौसम छिन छिनमै परिवर्तन हुने भएकाले त्यहाँ पुगेका पर्यटक हप्तौं दिनसम्म बस्न वाध्य हुन्छन् ।

लुक्लाका होटल ६ महिना सञ्चालनमा आउँछन् भने ६ महिना पूर्णरुपमा बन्द हुन्छन् । विषेश गरी मार्च, अप्रिल तथा मेमा खुला हुन्छन् भने जुन, जुलाई र अगष्टमा बन्द हुन्छन् । यस्तै सेप्टेम्बर, अक्टोबर तथा नोभेम्बरमा खुला रहन्छन् भने डिसेम्बर, जनवरी र फ्रेब्रुअरीमा बन्द हुने गरेका छन् । होटल बन्द रहेको बेला त्यहाँका स्थानीयहरु सबै काठमाडौं आउने गरेका छन् भने केही विदेश घुम्नका लागि जाने गरेका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा २ मा रहेको लुक्लासम्म सडक मार्ग पु¥याउने तयारी भइरहेको छ । हाल वडा१ सम्म सडक सञ्जालले जोडिसकेको छ । वडा १ मा पुग्न एक दिन लाग्ने गरेको स्थानीयहरु बताउँछन् । गाउँपालिकाका अध्यक्ष ङिमदोर्जे शेर्पाले लुक्लामा रहेको गाउँपालिकाको कार्यालयसम्म सडक ल्याउन लागिएको जानकारी दिए । आन्तरिक पर्यटकलाई लक्ष्य गरी सडक मार्ग निर्माण गर्न लागिएको उनको भनाइ छ । सडक मार्ग पुगेपछि आवश्यक खाद्यान्न सामग्रीदेखि अन्य सामान ढुवानी गर्न सहज हुने अध्यक्ष शेर्पाको विश्वास छ ।

गाउँपालिकाको कार्यालयभन्दा माथि भने सडक मार्ग जाने छैन । लुक्लाबाट पदयात्रा सुरु हुने भएकाले पनि सडक मार्गलाई जोड नदिइएको अध्यक्ष शेर्पाको भनाइ छ ।

यातायातको साधान पुगेपछि काठमाडौंसम्म पुग्न दुई दिन लाग्ने स्थानीयको अनुमान छ । काठमाडौंबाट लुक्लासम्मको जहाज भाडा विदेशीलाई १ सय ८० डलर र नेपालीलाई ८ हजार ४० रुपैयाँ लाग्छ ।