यात्रु नपाएपछि वायुसेवा निगमको जापान उडान सर्यो, भदौदेखि ओसाका र नारितामा उडान गर्ने

असार १९ गतेबाट नियमित उडान गर्ने गरी तयारी गरेको निगमले यात्रु नपाएकै कारण भदौका लागि उडान तालिका सारेको कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

काठमाडौं । वाइडबडी खरिदको एक वर्षपछि जापान उडान गर्ने तयारी गरेको नेपाल वायुसेवा निगमको तालिका फेरि सरेको छ । असार १९ गतेबाट नियमित उडान गर्ने गरी तयारी गरेको निगमले यात्रु नपाएकै कारण भदौका लागि उडान तालिका सारेको कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

असार र साउन जापानका लागि अफ सिजन रहेको र यात्रुको चाप न्यून भएकोले भदौमा उडान गर्ने तयारी भएको उनले बताए । सुरुमा ग्राउन्ड ह्यान्डलिङका कारण उडान तालिका बनाउन नसकेको निगमले पछि यात्रु नपाएका कारण सार्नुपरेको जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष खरेलले भदौमा ओसाका र नारिता गरी दुवै विमानस्थलमा उडान भर्ने योजनाका साथ तयारी अगाडि बढाएको जानकारी दिए ।

निगमले साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने तयारी गरेको थियोे । ६ घण्टा ३० मिनेटमा ओसाकामा पुग्न सकिन्छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपराह्न ६ः०० बजे काठमाडौं आइपुग्नेछ । ओसाकाका सबै उडान वाइडवडी ए३३०–२०० बाट हुने जनाएको छ ।