
अन्तर्राष्ट्रिय उडान भर्ने उद्देश्यका साथ विमानस्थलको पार्किङ–बे विस्तार गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । सो विमानस्थलबाट भारतमा उडान भर्नका लागि बुद्ध एयरले यसअघि नै अनुमति मागिसकेको छ ।
नेपालगञ्ज विमानस्थलमा आगामी १८ महिनाभित्र ६ ओटा पार्किङ–बे थपिने भएको छ । अन्तर्राष्ट्रिय उडान भर्ने उद्देश्यका साथ विमानस्थलको पार्किङ–बे विस्तार गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । सो विमानस्थलबाट भारतमा उडान भर्नका लागि बुद्ध एयरले यसअघि नै अनुमति मागिसकेको छ ।
विमानस्थलका प्रमुख प्रेम ठाकुरले २८ करोड ५३ लाख ४० हजार रुपैयाँको लागतमा कान्छाराम कन्ट्रक्सनले बुधबारबाट निर्माणको काम सुरु गरेको बताए । विमानस्थलमा हाल २ ओटा मात्र पार्किङ–बे छन् । हवाई यात्रुको चाप बढेसँगै जहाज पार्किङको समस्या भएपछि क्यानले नयाँ बे थप्ने कार्य सुरु गरेको हो ।
‘पर्यटकीय सिजनमा धेरै पर्यटक आउँदा निकै समस्या थियो,’ प्रमुख ठाकुरले भने, ‘अबको १८ महिनापछि त्यो समस्या समाधान हुन्छ ।’ निर्माण कम्पनीले भने १८ महिनाअघि नै काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । नयाँ पार्किङ–बे बनेपछि ६ ओटा एटीआर जहाजलाई सहजै राख्न सकिने छ ।
पछिल्लो समय नेपालगञ्ज हुँदै धेरै भारतीय पर्यटक मानसरोवर जाने गरेका छन् । मानसरोबर जानेहरुको सङ्ख्यामा बृद्धि भएपनि विमानस्थलको क्षमता कम भएकाले समस्या भोग्दै आएका थिए । अब नयाँ पार्किङ–बे बनेपछि सहज हुने विश्वास क्यानले लिएको छ ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको पार्किङ–बे निर्माणको सुरुवात गरेका छन् । उनले निर्धारित समयभन्दा अघि नै पार्किङ–बे निर्माण सम्पन्न गरी विमानस्थललाई हस्तान्तरण गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका छन् । विमानस्थलमा बे थपिएपछि नेपालगञ्ज हुँदै विभिन्न पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई सहज हुने मन्त्री अधिकारीले बताएका छन् ।