सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ । “राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो । हामीले धेरै विषयमा कुराकानी गर्यौँ, तर विषेश जोड भने व्यापारका विषयमा नौ भयो,” ट्रम्पले ट्विट गरेका छन् ।

उनले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको जानकारी दिँदै जी ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताए ।

जी ट्वान्टी शिखर सम्मेलन यही महिनाको अत्यमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा हुने तय भएको छ । रासस/एएफपी ः