निर्मला पन्त बलात्कार घटना : अनुसन्धानमा शून्य प्रगति

घटनास्थल वरपरका दुई ओटा वडामा प्रयोग भएका मोबाइलको विवरण हेरिएको कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी कुवेरबहादुर कठायलते जानकारी दिए ।

कञ्चनपुरमा साउन ११ गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना भएको सय दिन भइसक्दा पनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन ।

भएका प्रमाणसमेत लोप हुँदै जाँदा प्रहरी अनुसन्धान शून्य बराबर छ । कञ्चनपुर प्रहरीले अहिले घटनास्थल वरपर रहेका शङ्कास्पद मोबाइलको कल डिटेल हेरिरहेको छ । घटनास्थल वरपरका दुई ओटा वडामा प्रयोग भएका मोबाइलको विवरण हेरिएको कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी कुवेरबहादुर कठायलते जानकारी दिए ।

‘१० हजारभन्दा बढी सेवाग्राहीको मोबाइल विवरण हेरिरहेका छौं,’ एसपी कठायतले भने । प्रहरीले मोबाइल प्रयोगकर्तामध्ये प्रहरीले महिला, वृद्ध लगायतको मोबाइल छुट्याएर शङ्कास्पद व्यक्तिहरुको मात्र डिटेल हेरिरहेको छ । त्यस्तै कञ्चनपुर प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा थप चार जनाको डीएनए परीक्षण भइरहेको छ । घटनामा शङ्कास्पद रहेका अन्य व्यक्तिको पनि आवश्यक देखिएको खण्डमा डीएनए परीक्षण हुने एसपी कठायतले बताए ।