
बिमा समितिले पुरानो निर्णयलाई रोकेपछि एलआईसी नेपाल पछि हट्दै १२ प्रतिशत बोनस सेयर दिने निर्णयमा सीमित भएको छ । यसले कम्पनीको व्यावसायिक छबिमाथि पनि धक्का लागेको छ भने लगानीकर्ता ठूलो मारमा परेका छन् ।
नियामक बिमा समितिले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको बोनस सेयर घोषणालाई निस्तेज बनाइदिएको छ । कर्पोरेसनले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट लगानीकर्तालाई बम्पर (३६ प्रतिशत) बोनस सेयर घोषणा गरेकोमा समितिले रोक लगाएको हो । बिमा समितिले पुरानो निर्णयलाई रोकेपछि एलआईसी नेपाल पछि हट्दै १२ प्रतिशत बोनस सेयर दिने निर्णयमा सीमित भएको छ । यसले कम्पनीको व्यावसायिक छबिमाथि पनि धक्का लागेको छ भने लगानीकर्ता ठूलो मारमा परेका छन् ।
३६ प्रतिशत बोनस सेयर पाउने आशामा लगानी गरेका सेयरधनीहरु ठूलो मर्कामा परेका छन् । एलआईसीले भने यसलाई प्राविधिक त्रुटि भनेर उल्लेख गरेको छ । उसले यो लाभांश पनि बिमा समिति र साधारणसभाबाट पारित भएपछि प्राप्त हुने उल्लेख गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार एलआईसीले गत साउन २४ मा ३६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेकोमा बिमा समितिले कात्तिक ६ गते पूर्व लाभांश संशोधन गर्न निर्देशन दिएको थियो । त्यसैअनुरुप एलआईसीको कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि छुट्ट्याएको उल्लेख गरेको छ । एलआईसीले लगानीकर्तासँग भने माफी मागेको छैन । पूर्व निर्णयअनुसारको लाभांश नपाउने हो भने यसबीचमा लगानी गरेका लगानीकर्ता ठूला मारमा पर्नेछन् । यसलाई नियामक निकायले पनि नजरअन्दाज गरेर छोड्न भने मिल्दैन ।
कम्पनीहरुले जथाभावी निर्णय गर्ने र त्यसलाई नियामकले सच्याउने हो भने सामान्य लगानीकर्ता जहिल्यै डुब्नेछन् । यसतर्फ नियामक निकायले पनि चनाखो भएर निर्णय गर्नुपर्ने र यस्तो निर्णय गर्ने सञ्चालक समितिलाई तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता छ ।