ठेकेदारहरु नै दिन्थे समीरमानलाई व्यवसायीको विवरण

जेलबाट समीरले ठेकेदारको सूचना दिने र सो सूचनालाई समीरपत्नी मायाले सुटर ग्याङ लोप्साङ र अमर रानालाई दिने गरेको सुटर रानाले प्रहरीमा बयानमा बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुण्डा नाइके समीरमान बस्नेतले श्रीमतीको सहयोगमा जेलबाटै ६० जना निर्माण व्यवसायी (ठेकेदार)लाई फिरौती रकम मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केही दिनअघि पक्राउ परेका गौचन हत्याका सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले सो कुरा खुलाएका हुन् । प्रहरी स्रोतका अनुसार जेलमा रहेका समीरमानले श्रीमती माया शेरचनलाई रकम फिरौती माग्ने ठेकेदारबारे जानकारी गराएका थिए ।

जेलबाट समीरले ठेकेदारको सूचना दिने र सो सूचनालाई समीरपत्नी मायाले सुटर ग्याङ लोप्साङ र अमर रानालाई दिने गरेको सुटर रानाले प्रहरीमा बयानमा बताएका छन् । प्रहरी स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘जेलबाट समीरमानले श्रीमती मायालाई ठेकेदारको विवरण दिन्थे, सो विवरण मायाले बाहिर बसेका लोप्साङ र रानालाई दिएर ठेकेदार तथा व्यापारीलाई फोन गर्न लगाउने गरेकी थिइन् । मायाले सुटरलाई भन्ने गरेकी थिइन्, दाइले फलानोलाई फोन गरेर यति रकम माग्न भन्नुभएको छ । यसको विवरण यस्तो छ भन्दै मायाले सुटरलाई आदेश दिने गरेकी थिइन् ।’

स्रोतका अनुसार सो समूहले ३ महिनाको अवधिमा ६० जना ठेकेदारलाई नो कलर आईडी (नेटफोनबाट) टेलिफोन गरेको थियो । त्यसमा २० जना ठेकेदारले सो समूहको फोन ‘रिसिभ’ गरेका थिए । तीन महिनाको अवधिमा ३ करोडबराबर रुपैयाँ उठाएको सुटर रानाले खुलाएका छन् । त्यसरी उठेको सबै रकम समीरकी श्रीमती मायाले नै व्यवस्थापन गर्ने गरेको पनि रानाले प्रहरीमा खुलाएको स्रोतले बतायो । स्रोतका अनुसार सो समूहले कालिमाटी–कलङ्की क्षेत्रमा रहेर युरिया मलको व्यापार गर्ने एक व्यापारीसँग ठूलै रकम असुलेका थिए । त्यसैगरी कृषि सामग्री र बीउको एक ठूलो कारोबारीसँग पनि ठूलो रकम उठाएको रानाले खुलाएका छन् । त्यसैगरी चाइनाबाट टान्सपोर्टको काम गर्ने एक व्यवसायीबाट पनि सो समूहले मोटो रकम असुलेको खुलेको छ ।

स्रोतले भन्यो, ‘उनीहरुले रकम उठाएका जुन व्यक्ति छन्, उनीहरुको पारिवारिक तथा कार्यालयको सम्पूर्ण विवरण बनाएर रकम नदिए ज्यान मार्ने धम्की दिने गरेका थिए । दाइको केस मिलाउन भन्दै उनीहरुले सो व्यक्तिहरुबाट रकम उठाउने गरेको खुलेको छ ।

‘दाइको केस मिलाउनु छ, यति रकमको खाँचो छ, तपाईं नभएको मान्छे पनि होइन, व्यवसायीले दिन आनाकानी गरे, तपार्इंको परिवार यस्तो, यति सदस्य, यहा जान्छन्, यहाँ खान्छन्, छोराछोरी यहाँ पढ्छन्, बाँकी कुरा आफंै विचार गर्नू’ भन्दै धम्काउने गरेको देखियो,’ स्रोतले भन्यो ।

ठेकेदारबाटै विवरण दिन्थे जेलमा भएका समीरमान

जेलबाटै योजना बनाएर फिरौती रकम माग गरिएका ठेकेदारको विवरण ठेकेदारले नै समीरमानलाई दिने गरेको रहस्य खुलेको छ । ६० जना ठेकेदारलाई तारन्तार फिरौती रकम माग भएपछि निर्माण व्यवसायीले गृहमन्त्रीलाई भेटेर सो कुरा जानकारी गराए ।

त्यसपछि गृहमन्त्रीले सो कुरा प्रहरी महानिरीक्षकलाई एक्सन चाल्न निर्देशन दिएका थिए । प्रहरी महानिरीक्षकले महानगरीय अपराध महाशाखालाई ठेकेदारमाथिको धम्की र सो मुद्दा हेर्न निर्देशन दिएका थिए । महानगरीय अपराध महाशाखाले समीरले जेलबाट र्याकेट चलाएको यसअघि नै पत्तो पाएर उनलाई काठमाडौं काहिरको जेलमा सार्न सिफारिस गरेको थियो ।

‘त्यति बेला नै समीरको कर्तुत थाहा भएको थियो,’ स्रोतले भन्यो, ‘हामीलाई पूरा शङ्का थियो, गौचन हत्याका सुटर पक्राउ परेपछि हाम्रो आशङ्का र सुटरले दिएको बयान मिल्यो ।’

दुर्गा तिवारीदेखि शरद गौचन हत्यामा विभिन्न तहमा बसेर सहयोग गरेको अभियोगमा पक्राउ परेकी मायाका बारेमा अनुसन्धान जारी रहेको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए । ‘तिवारी हत्यादेखि गौचन हत्यामा उनको हात रहेको खुल्यो, पछिल्लो समय जेलमा रहेका पति समीरको निर्देशनमा विभिन्न व्यक्तिलाई रकम असुल्न लगाउनमा समेत उनको हात छ, हामी अनुसन्धान गर्दै छौं,’ उनले भने ।