देवकोटाको जन्मघर सङ्ग्रहालय बन्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनकाे कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए ।

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनकाे छोरा डा पदमप्रसाद देवकोटा बस्दै आएका छन् ।  महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौँ लोकप्रिय कृति प्रकाशित छन् । उनी पूर्व शिक्षामन्त्रीसमेत हुन।

‘देवकोटा मूलबाट फुटेर खसेको झाँगोजस्तो’

गतसाता छातिमा संक्रमण भएर उपचारार्थ अस्पताल भर्ना भई निवास फर्केपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिएका प्रधानमन्त्री ओलीले महाकवि देवकोटाका विभिन्न कविता सुनेपछि भने  “देवकोटाजस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन । उहाँ प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको झाँगोजस्तो हुनुहुन्थ्यो ।” आफ्नो उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा अरुण सायमी र सचिवायलले लामो नबोल्न र धेरैबेर कार्यक्रममा नबस्न सुझाए पनि प्रधानमन्त्री ओलीले देवकोटाका रचना सुनेर आफूलाई शक्ति मिलेको जनाए ।

आफू जन्मनुभन्दा ४२ वर्षअघि जन्मिएका महाकवि देवकोटालाई प्रधानमन्त्री ओलीले देवकोटा बितेको भोलिपल्टदेखि मात्र राम्रोसँग चिन्न थालेको अनुभव सुनाए ।  प्रधानमन्त्री ओलीले आफू बाल्यकालमा विद्यालय पढ्दा देवकोटाको निधनमा शिक्षकहरु रोएको देखेपछि उनीप्रति जिज्ञाशा बढेको र पछि ‘मुनामदन’ खण्डकाव्य पढ्दा आफू पनि रोएको स्मरण गरे । झ्याउरे छन्दको ‘मुनामदन’ अहिले पनि नेपाली पाठकमाझ धेरै बिक्री हुने पुस्तक मध्येमा पर्छ ।

भारतीय महापण्डित डा राहुल साङकृत्यायनले देवकोटालाई गौतमबुद्धपछिको सबैभन्दा ठूलो मानवातारका रूपमा लिर्ई भारतका तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा भनी उल्लेख गरेको सन्दर्भ पनि साहित्यिक इतिहासमा गौरवका साथ लिइन्छ ।