बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन उच्च अधिकारी(सचिव)स्तरीय छलफल हुनेछ भने शुक्रबार मन्त्रीस्तरीय परामर्श बैठक हुने छ ।
वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा रहेको कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन उच्च अधिकारी(सचिव)स्तरीय छलफल हुनेछ भने शुक्रबार मन्त्रीस्तरीय परामर्श बैठक हुने छ ।
उच्च अधिकारीस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका लागि कार्यसूची, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ र सोही आधारमा मन्त्रीस्तरीय बैठकले आवश्यक निर्णयहरु लिने श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्वर दाहालले जानकारी दिए । बैठकमा कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरु अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्यान्ड र भियतनाम छन् ।
बैठकमा आप्रवासन सम्बन्धमा विभिन्न सिफारिस र कार्य योजनाउपर विचार विमर्श हुने छ । साथै अघिल्लो बैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुको साथै आगामी दिनमा अवलम्बन गरिने कदमहरुको पहिचान समेत गर्ने बताइएको छ ।
२००३ मा श्रीलङ्कामा स्थापना भएको सो कोलम्बो प्रोसेस अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रिय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित भएको थियो । हाल नेपाल यसको अध्यक्ष छ । २९ मार्च २०१७ देखि नेपालले यसको अध्यक्षता गरिरहेको छ । शुक्रबार हुने परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने बैठकको अध्यक्षता भने श्रममन्त्री गोकर्ण विष्टले गर्नेछन् । यस्तै उच्चस्तरीय बैठकको अध्यक्षता श्रम सचिव दाहालले गरेका छन् ।
दुवै बैठकमा सदस्य मुलुकका मन्त्री तथा उच्च अधिकारीहरुको सहभागिता रहनेछ । यस्तै आप्रवासनसँग सम्बद्ध एक दर्जन जति संस्थाहरुका पर्यवेक्षक प्रतिनिधिहरुको सहभागिता छ । बैठकले काठमाडौं घोषणापत्र जारी गर्ने छ ।