नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण सुरु गरिएको हो ।
राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण सुरु गरिएको हो ।
भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र प्रदान गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो ।
राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी रहेको निर्देशक न्यौपानेले बताए ।
साेमबार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । सोमबारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढेको विभागले जनाएको छ । पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ । यसै आर्थिक वर्षमा प्रदेश नं– १ का झापा र सङ्खुवासभा, प्रदेश नं– २ का महोत्तरी र सप्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको विभागका निर्देशक न्यौपानेले जानकारी दिए ।
ती जिल्लामा कार्यालय स्थापना तथा जनशक्ति व्यवस्थापनको कार्य चाँडै शुरु हुने उनको भनाइ छ ।