अवैध घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण रोकथाम गर्न काठमाडौं प्रहरीले विशेष निगरानी बढाएको छ । लोकल मदिराकै कारण समाजमा विभिन्न खालका अपराधका घटना हुने गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले मदिरा उत्पादन हुने तथा ओसारपसार हुने क्षेत्रमा विशेष टोली परिचालन गरेको हो । ‘लोकल मदिराले समाजमा धेरै खालका समस्या ल्यायो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले भने,...
अवैध घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण रोकथाम गर्न काठमाडौं प्रहरीले विशेष निगरानी बढाएको छ । लोकल मदिराकै कारण समाजमा विभिन्न खालका अपराधका घटना हुने गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले मदिरा उत्पादन हुने तथा ओसारपसार हुने क्षेत्रमा विशेष टोली परिचालन गरेको हो ।
‘लोकल मदिराले समाजमा धेरै खालका समस्या ल्यायो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले भने, ‘मदिराकै धेरै अपराध बढायो, सबैतिरबाट गुनासो आएकाले त्यसमा कडाइ गर्न लागेका हौं ।’
लोकल मदिरा उत्पादन हुने काठमाडौंको जोरपाटी क्षेत्र, चोभार, कीर्तिपुर, टोखा, थानकोटलगायत क्षेत्रमा विशेष निगरानी बढाएको छ । लोकल मदिरा बिहानको समयमा बजारमा ल्याउने गरेको भन्दै प्रहरीले बिहानबेलुका सो क्षेत्रमा निगरानी गर्दै आएको छ ।
सोमबार मात्र प्रहरीले काठमाडौंको टोखाबाट करिब २ हजार लिटर लोकल मदिरा र मदिरा बनाउने कारखाना नष्ट गरेको एसएसपी लामाले जानकारी दिए ।
सामाखुसी क्षेत्रमा लोकल मदिरा ल्याउँदै गरेका युवकलाई पिछा गर्दै जाँदा सो लोकल मदिरा बनाउने कारखानासम्म प्रहरी पुगेको उनको भनाइ छ ।