१२ वर्षअघि फरार प्रतिबादी पक्राउ

बस्नेतले २०६३ साल मङ्सिर १० गते सन्ध्यालाई खुकुरी प्रहार गरी फरार भएका थिए । त्यसपछि बस्नेतलाई प्रहरीले २०६६ चैत्र ५ गते ५८० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।

१२ वर्षअघि कीर्तिपुरकी सन्ध्या बस्नेतलाई खुकुरी प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

बस्नेतले २०६३ साल मङ्सिर १० गते सन्ध्यालाई खुकुरी प्रहार गरी फरार भएका थिए । त्यसपछि बस्नेतलाई प्रहरीले २०६६ चैत्र ५ गते ५८० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो । लागूऔषध मुद्दामा सात वर्ष जेल बसेर निस्केका बस्नेतले २०७४ बैशाख १० गते भूपू गृहसचिव शरदराज सुवेदीलाई काठमाडौंको कालिमाटीस्थित जेब्राक्रसमा ठक्कर दिएर भागेका थिए ।

प्रहरीले उनलाई पक्राउ गरी सवारी ज्यान मुद्दा चलाएको थियो । उक्त मुद्दामा बस्नेत एक महिना जेल बसेर छुटेका थिए ।

त्यसअघिको फरार प्रतिबादी बस्नेतको पहिलो मुद्दाबारे अदालतबाट प्रहरीलाई जानकारी नभएका कारण पहिलो मुद्दामा फरार नै रहेको र पछि अदालतको रेकर्ड हेर्दा उनी फरार सूचीमा देखिएकाले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारवाहीका लागि कालिमाटी प्रहरी वृत्तमा जिम्मा लगाइएको डीएसपी बोगटीले जानकारी दिए ।