नक्कली लालपुर्जा बनाएर अरुको जग्गा बिक्रीगर्ने तामाङ १३ वर्षपछि पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरार अभियुक्त तामाङलाई सोमबार काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको हो ।

नक्कली लालपुर्जा र नक्सा बनाएर अरुको जग्गा बेच्ने भक्तपुरका सरोज तामाङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरार अभियुक्त तामाङलाई सोमबार काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको हो ।

तामाङ, भेषबहादुर भन्ने ईन्द्रबहादुर लामा र गोपाल भन्ने अङ्गद खत्री मिलेर २०७० सालमा भक्तपुर, सिपाडोल गाबिस वडा ४ निवासी सानुमाया तामाङको कित्ता नं १०४१ को १–११–२–० क्षेत्रफल जग्गालाई आफ्नो भन्दै नक्कली कागजपत्र बनाएर सस्तो जग्गा भन्दै मनोरमा लिम्बुको नाममा २५ लाखमा बिक्री गरेका थिए ।

ठगी मुद्दामा उनीहरुलाई जिल्ला अदालत भक्तपुरले २ लाख २५ हजार जरिबाना र ६ महिना कैद सजाय सुनाएको थियो । अदालतबाट सजाय सुनाइएका अन्य दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो भने तामाङ फरार थिए ।

पक्राउ परेका तामाङलाई ब्युरोले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको छ ।