चिसो वृद्धि

वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम छ ।

काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम छ ।

लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । ‘सिजनल इफेक्ट(मौसमी प्रभाव)ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उनले भने ।

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ ।

केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ । यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ । तापक्रम क्रमशः घट्दो क्रममा छ । रासस