रोजगारीमा ठगी भएको भन्दै सात सय उजुरी, फरफारकको क्रम बढ्दो

व्यक्तिगत र संस्थागत उजुरी गरी कुल चार सय ३४ ओटा उजुरी दर्ता भएका छन् । पछिल्लो समय यी उजुरीलाई फरफारकको क्रम बढेको देखिन्छ ।

वैदेशिक रोजगार ठगी भएको भन्दै विभागमा चार सय १२ ओटा उजुरी परेका छन् । चालू आर्थिक वर्षको चार महिनामा व्यक्तिगत र संस्थागत गरी सो सङ्ख्यामा उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

तथ्याङ्कअनुसार व्यक्तिगत र संस्थागत उजुरी गरी कुल चार सय ३४ ओटा उजुरी दर्ता भएका छन् । पछिल्लो समय यी उजुरीलाई फरफारकको क्रम बढेको देखिन्छ । ठगीका साढे चार सय उजुरीमध्ये दुई सय ५४ ओटा फरफारक भएका छन् । विभागमा परेका उजुरीमा व्यक्तिगततर्फ तीन सय २१ र संस्थागतमा चार सय ३४ उजुरी छन् ।

कार्तिकसम्म विभागबाट कुल ३२ करोड ६४ लाख ९१ हजार दुई सय दुई रुपैयाँ रकम दाबी भएको छ । जसमध्ये व्यक्तिगततर्फ १५ करोड दुई हजार एक सय ५० र संस्थागतमा १५ करोड ११ लाख १७ हजार एक सय दुई रुपैयाँ छ ।

रोजगार विभागको तथ्याङ्कअनुसार ५९ ओटा उजुरीमात्र अदालतमा मुद्दा दायर भएका छन् । अदालमा दायर भएका मुद्दाका आधारमा हेर्ने हो भने फरफारक अथवा उजुरी मिलाउने क्रम तीव्र रुपमा बढेको छ । त्यस्तै अदालतमा बिगो दाबी कायम रहेको रकम भने आठ करोड १७ लाख १४ हजार आठ सय ३७ रुपैयाँ छ । उजुरीको सङ्ख्याका आधारमा विभागबाट ११ लाख रुपैयाँमात्र जरिवाना तोकिएको विभागको तथ्याङ्कमा उल्लेख छ । अहिले सिप नसिकी कुनै पनि तालिम नलिई रोजगारीमा गएकाले पनि यो ठगिने क्रम बढ्दो छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेकोे २०७४/०७५ को आर्थिक सर्वेक्षणले करिब ७४ दशमलब ५ प्रतिशत कामदार अदक्ष रहेको देखाएको छ । नेपालबाट करिब ४३ लाख युवा औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये दक्ष कामदार १ दशमलव ५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४ दशमलव ५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७५/०७६को बजेट भाषणमा स्वदेशमा रोजगारीका पर्याप्त अवसर तथा छनौट उपलब्ध नभएसम्म अल्पकालीन रणनीतिको रुपमा वैदेशिक रोजगारीको अवसरको उपयोग गरिने बताइएको छ । अन्तर सरकारी श्रम सम्झौता गरी न्यूनतम सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गरिने भने पनि अहिलेसम्म सो कार्य अन्योलमा छ ।