मानवअधिकार उल्लङ्घनका ६४ घटना

अनौपचारिक सेवा केन्द्र (इन्सेक) नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ ।

नवलपरासी पूर्व नवलपुरमा ११ महिनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ । ती घटनामा सबैभन्दा धेरै बालिका र महिला पीडित थिए ।

बलात्कार तथा यौन दुर्व्यवहारका ३१ घटनामा २२ बालिका पीडित थिए तर तीमध्ये छ घटनाका आरोपीलाई नवलपुर जिल्ला अदालतले सफाइ दिएको थियो । घरेलु हिंसामा १४, राज्यबाट गिरफ्तारसम्बन्धी तीन, गैरराज्य पक्षबाट हत्या भएका ६, बहुविवाहसम्बन्धी तीन र मौलिक अधिकार, कुटपिट, एसिड प्रहार, मानव बेचबिखन, परिवारजनबाट हत्या प्रयास र भौतिक क्षतिसम्बन्धी एक एक घटना भएको उक्त संस्थाका जिल्ला प्रतिनिधि तीर्थराज डुम्रेले जानकारी दिए ।

नागरिक समाज, राजनितिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानवअधिकार उल्लङ्घनका घटना कम गर्न सकिने प्रहरी उपरीक्षक रमेश थापाले बताए । चेतनाको कमीले केही घटना प्रहरीमा ढिला गरी आउने गरेकाले कारवाही प्रक्रियामा समस्या हुने गरेको उनले बताए । मानवअधिकार सञ्जाल नवलपुरका अध्यक्ष भूपेन्द्र खनालले पीडितपक्षको उजुरी प्रहरीले सहज रूपमा लिने वातावरण सिर्जना गर्न सके यस्ता घटनामा कमी हुनेमा जोड दिए । रासस