राप्ती नदी नजिकै रहेको यो विद्यालय गत वर्ष आएको बाढीले डुवानमा परेको थियो ।
बाँकेको राप्तीपारी फत्तेपुरस्थित दीपज्योति प्राथमिक विद्यालयले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम विद्युत् जडानमा उपयोग गरेको छ ।
राप्ती सोनारी गाउँपालिका–६ मा पर्ने उक्त विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले चार दिनसम्म मोहनपुर, हब्रवा, पदनाह, विशम्वरपुर र जोरैया गाउँमा देउसीभैलोे खेलेर सङ्कलन गरेको ६२ हजार ६१५ रूपैयाँले विद्यालयमा विद्युत् जडान गरिएको प्रधानाध्यापक वीरबहादुर बुढाले बताए । “विद्यालयमा विद्युत् नभएका कारण गर्मीयाममा बालबालिकालाई अप्ठ्यारो हुँदै आएको थियो” प्रधानाध्यापक बुढाले भने, “अब गर्मी खेप्नु पर्दैन, विद्युत् जडानसँगै दश थान पङ्खा पनि किनेका छौँ ।”
राप्ती नदी नजिकै रहेको यो विद्यालय गत वर्ष आएको बाढीले डुवानमा परेको थियो । कक्षा पाँचसम्म पढाइ हुने यो विद्यालयमा अहिले १५० विद्यार्थी अध्ययनरत रहेको उनले बताए । विद्यालयको आर्थिक स्रोत नभएका कारण देउसीभैलो खेलेर सङ्कलन भएको रकम विद्युत् जडान र पङ्खा खरिद कार्यमा लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले बताए । रासस