लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्याे नेपाल

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्याङ्कअनुसार सन् २०१३ देखि हालसम्म १९ हजार ६ सय २८ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ, जसका कारण विकास र शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परिरहेको छ ।

लागुऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकाय क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य झन् चुनौतीपूर्ण बन्दै गएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्याङ्कअनुसार सन् २०१३ देखि हालसम्म १९ हजार ६ सय २८ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

ब्युरोको तथ्याङ्कअनुसार पक्राउ पर्नेमा १८ हजार ७ सय ६८ जना नेपाली नागरिक छन् । यो अवधिमा ठूलो मात्रामा विदेशी नागरिक पनि लागुऔषधको ओसारपसारमा पक्राउ परेका छन् । साढे ५ वर्षको अवधिमा ८ सय ६० जना विदेशी नागरिक पक्राउ परेका छन् ।

त्यसमा ७ सय ५५ जना भारतीय लागुऔषध कारोबारी छन् । बाँकी पाकिस्तान, चीन, मलेसिया, सोमालिया, बोलिभिया, पोल्यान्ड, टर्की रसियालगायत ३३ देशका नागरिक पक्राउ परेको ब्युरोको तथ्याङ्क छ ।

कहिले कति विदेशी पक्राउ
सन् २०१३ १४६ जना
सन् २०१४ १५२ जना
सन् २०१५ १२४ जना
सन् २०१६ १३९ जना
सन् २०१७ १५९ जना
सन् २०१८ १३६ जना हाल सम्म

लागुऔषध ओसारपसारका लागि तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएको प्रहरी अनुसन्धानबाट देखिएको छ । अनुसन्धान अधिकारीका अनुसार खुला सिमानाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणामका लागुऔषध ओसारपसार हुने गर्छ । भारतबाट ब्राउन सुगर, औषधिजन्य लागुऔषध, हेरोइन कोकिनलगायतका लागुऔषध नेपाल आउँछ ।

अनि नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिमाणमा भारततर्फ तस्करी हुने गर्छ । अन्तर्राष्ट्रिय तस्करहरुले विशेषगरी काठमाडौंलाई ट्रान्जिट प्वाइन्ट बनाएको प्रहरी भनाइ छ । दक्षिण एसियामा उत्पादन हुने आधिकांश लागुऔषध भारतबाट काठमाडौंको बाटो हुँदै युरोप र अमेरिकी मुलुकसम्म पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अन्तराष्ट्रिय लागुऔषध तस्करले नेपाललाई ट्रान्जिट बनाउने गरेको यसअघि बरामद भएको लागुऔषध र पक्राउ परेका विदेशी नागरिकबाट खुलेकै छ । ब्युराका एसएसपी विश्वराज पोखरेल भन्छन्, ‘सङ्गठित रुपमा हुने लागुऔषध तस्करी रोख्न प्रहरीले हदै प्रयास गर्दै आएको छ । तर पनि तस्करी समूहले विभिन्न उपाय लगाएर लागुऔषधको कारोबारलाई निरन्तरता दिँदै आएका छन् ।

सङ्गठित रुपमा विदेशमा बसेर नेपाललाई ट्रान्जिट बनाउने गरेका कारण भरिया पक्राउ परे पनि मुख्य तस्करी भने उम्कन सफल हुने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।


देशमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या डेढ लाखभन्दा बढी छ । पछिल्लो ५ वर्षको अवधिमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दोब्बर बढ्ेको प्रहरी तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागले २०६३ सालमा गरेको अध्ययनअनुसार नेपालमा ४६ हजार व्यक्तिले लागुऔषधको प्रयोग गर्ने गरेको तथ्याङ्क थियो । त्यो तथ्याङ्क २०६९ सालमा ९१ हजार १ सय ५० पुगेको थियो ।

अहिले देशभर दुव्र्यसनीको सङख्या दुई लाखभन्दा बढी रहेको प्रहरी अनुमान छ । विभागको तथ्याङ्कअनुसार २०६९ सालमा राजधानीमा मात्र ३६ हजार ९ सय लागुऔषध प्रयोगकर्ता थिए । यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ वर्ष उमेर समूहका युवापुस्ताको सङ्ख्या झन्डै ८० प्रतिशत थियो ।

पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागुऔषधको कुलतमा फसेका छन् । १ वर्षअघिको तथ्याङ्कमा महिला दुव्र्यसनीको सङ्ख्या ६ हजार ३ सय ३० थियो । प्रहरीका अनुसार नेपालमा रहेका अधिकांश दुव्र्यसनीले डाइजेपाम, ब्रुपिनर्फिन, फेनार्गनलगायत औषधिजन्य लागुऔषध प्रयाग गर्ने गरेको देखिएको ब्युरोका एसएसपी पोखरेलले क्यापिटल नेपाललाई बताए । उनका अनुसार नेपालमा औषधिजन्य लागुऔषध उत्पादन हुँदैन । अहिलेसम्म जति पनि औषधिजन्य लागुऔषध नेपाल भित्रिएको छ, त्यो सबै भारतबाट नै हो ।

खुला सिमानाका कारण भारतको जोगवनी, पानीट्याङ्की, लखनऊ, गोरखपुर, सोहरातगढ, बढनी, अलिगढवाबाट बोर्डर सुनौली, कृष्णनगर, दचिडी, भादगङ्गा, रङ्गपुर, विम्ली हुँदै लागुऔषध नेपाल भित्रिन्छ । अनुसन्धान अधिकारीका अनुसार भारतका डिलरहरूले लागुऔषध नेपालको सिमानासम्म ल्याइदिन्छन् । त्यहाँबाट भने नेपाली लागुऔषध डिलरहरुले स्थानीय स्तरमा पु¥याउँछन् । प्रहरीले पक्रने डरले नेपाली डिलरहरूले पेट्रोल ट्याङ्कर, भाडाको गाडी, विभिन्न अन्य सामान बोक्ने सवारीमा लुकाएर लागुऔषध नेपालमा विभन्न स्थानमा पु¥याउने गर्छन् ।

नेपालमा उत्पादन हुन्छ उत्पादन हुन्छ, गाँजा र अफिम

ब्युरोका अनुसार नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ । एक गाँजा, अर्को अफिम । नेपालको बारा, पर्सा र मकवानपुर, रोल्पा, जाजारकोटलगायतका जिल्लामा अफिम उत्पादन हुने अनुसन्धान अधिकारीेले बताए । त्यसैगरी धादिङ, मकवानपुर, नुवाकोट, रोल्पा, रुकुम, भोजपुर, सङ्खुवासभा, सुर्खेतलगायत जिल्लामा व्यावसायिक रुपमै गाँजा खेती हुँदै आएको छ ।

अनुसन्धान अधिकारीका अनुसार दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न नेपालमा गाँजा र अफिम उत्पादन हुने गरेको छ । अर्कातिर गाँजाभन्दा अफिममा फाइदा हुन थालेपछि कृषकले लुकिछिपी भए पनि अफिमको खेती गर्ने गरेको प्रहरीको दाबी छ ।

नेपाली कृषकलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्नका लागि बीउ, मलदेखि पैसासम्म पहिले नै दिने गरेका छन् ।