मन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार आयोजित कार्यक्रममा मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहे पनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘तपाईहरुलाई दिइएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ ।’ गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएको र सोही अनुरुप काम अघि बढीरहेको गृहमन्त्रीको भनाइ छ । गृहमन्त्री थापाले भने, ‘समिक्षाबाट निस्किएको सवलता र कमजोरी आधारमा आफ्ना कामकारवाहीलाई थप परिस्कृत बनाउँदै लैजानुहोस् । ’

कार्यक्रममा गृह सचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले मन्त्रालयको कामकारवाही सहि बाटोमा रहे पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा गृह अन्तर्गतका निकायहरुले हालसम्म गरेका कामकारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामुहिक छलफल गरिएको थियो ।