विमानस्थल अध्यागमनका कर्मचारीमाथि विभागले बढायो निगरानी

मानव तस्करहरुसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले गर्दै आएको सेटिङ भत्काउन विभागले कार्यविधि परिमार्जन गरी नयाँ व्यवस्था लागू गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने गरेको तस्करी सेटिङ भत्काउन अध्यागमन विभागले आफ्ना कर्मचारीमाथि निगरानी बढाएको छ ।

मानव तस्करहरुसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले गर्दै आएको सेटिङ भत्काउन विभागले कार्यविधि परिमार्जन गरी नयाँ व्यवस्था लागू गरेको हो ।

यसअघि विदेश जाने कुनै पनि नागरिकको अध्यागमन पास दिने वा नदिने भन्ने अधिकार काउन्टरमा बसेका अधिकारीलाई थियो । सोहीअनुसार अधिकारीले मन नलागेका र आफूले नचाहेका मानिसहरुलाई विदेश जान रोक लगाउँदै आएका थिए । मानव तस्करहरुले त्यस्ता कर्मचारीसँग मिलेर सरकारले प्रतिबन्ध लगाएका देशमा कामदारलाई भिजिट भिसामा पास दिने गरेका थिए ।

त्यसरी विदेश गरेका युवा तथा युवतीहरु बिचल्लीमा पर्ने गरेको र विमानस्थलको समेत बदनाम हुन थालेपछि विभागले त्यस्तो व्यवस्थालाई खारेज गरी विमानस्थलको डेस्कमा बस्ने अधिकारीको अधिकार कटौती गरेको हो । ‘विमानस्थल सेटिङ बन्द भएको छ,’ क्यापिटल नेपालसँग कुरा गर्दै अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेलले भने, ‘विगतमा हाम्रा कर्मचारीका कमजोरीका कारण देशको बेइजजत भयो, त्यो कुरा सबैसामु छ, त्यसलाई नियन्त्रण गर्न हामीले केही योजना बनाएका छौं । योजना बनाउने मात्र होइन, ती योजनालाई लागू पनि गरिसकेका छौं । त्यसको रिजल्ट पनि राम्रै देखिएको छ ।’

भिजिट भिसाका नाममा बेरोजगार युवालाई मानव तस्करले ठग्न थालेपछि सरकारले खाडी मुलुकमा घुम्न जानेहरुमाथि निगरानी बढाउन थाल्यो । ‘भिजिट भिसामा खाडी जानेहरुलाई पटक्कै नदिने भन्ने हैन, मानिस घुम्नका लागि हो या विमानस्थलबाट पास हुनका लागि मात्र भिजिट भिसामा जान लागेको हो भन्ने छुट्याएर अध्यागमन पास गर्न विमानस्थलमा खटिएका अधिकारीलाई अधिकारी दिइएको हो । तर सोही अधिकारलाई प्रयोग गर्दै अध्यागमनका अधिकारीले घुम्नकै लागि जानेलाई अवरोध गर्ने र कामदारलाई भिजिट भिसामा पठाउने जस्ता काम गरेका कारण विभागले यस्तो कदम चालेको हो ।

नयाँ व्यवस्थाअनुसार अब विदेश जाने कुनै व्यक्तिबारे शङ्का लागेमा अध्यागमन डेस्कमा बसेका अधिकारीले मात्र राक्ने वा पठाउने भन्ने निर्णय गर्न पाउनेछैनन् । नयाँ व्यवस्थाअनुसार कुनै पनि व्यक्तिबारे शङ्का लागेमा डेस्कमा भएका अधिकारीले आफूभन्दा माथि फरवार्ड गर्नुपर्नेछ ।

त्यसपछि रोक्नैपरे सो व्यक्तिको रेकड हेरेर हुन्छ कि आफूभन्दा माथिल्लो निकायमा खबर गरेर हुन्छ, त्यसपछि मात्र निर्णय हुनेछ । ‘हामीले यो सबै विमानस्थलमा हुने गरेका बेथिति रोक्न गरेका हौ । कसैका कारणले कुनै नागरिकले दुःख पाउनुहुँदैन,’ विमाग प्रमुख पौडेलले भने, ‘कर्मचारीको मुडमा मान्छेको भ्रमण गर्न नपाउनु गलत हो, घुम्नै जानेलाई रोक्ने कुरै आउँदैन ।’

यसरी हुन्छ विमानस्थलमा सेटिङ

विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीसँग भिजिट भिसामा जानेहरुको चिनजान हुने कुरै भएन । विमानस्थलमा कार्यरत कर्मचारी र बिचौलियाको तालमेल हुन्छ । भिजिट भिसामा कहिले जाने भन्ने कुरा बिचौलियाले अध्यागमनका कर्मचारीलाई भन्छन् ।

विदेश जानेसँगै बिचौलिया पनि विमानस्थल जान्छन् । मान्छे एयरलाइन्सको काउन्टर पास गरेपछि के गर्ने, कसो गर्ने भन्नेबारे बिचौलियाले सबै कुरा बाहिरै सिकाएका हुन्छन् । भिजिट भिसामा जानेलाई बिचौलियाले यति नम्बरको डेस्कमा जानू भनेर समेत सिकाएका हुन्छन् ।

त्यसपछि अध्यागमनका कर्मचारीलाई पनि त्यो व्यक्तिको हुलिया दिएका हुन्छन् । त्यस्ता व्यक्ति डेस्कमा आउनासाथ अध्यागमनका कर्मचारीले दायाँबायाँ नगरी अध्यागमन पास गराउँछन् । मानिस उडिसकेपछि बिचौलिया फर्किन्छन्, अध्यागमनका कर्मचारीको भागको पैसा घरमै पुग्छ ।

बिचौलियाले सुरुका दिनमा ५ हजारमा भिजिट भिसामा सेटिङ गराउने गरेका थिए । त्यो समयमा दिनमा एक सयभन्दा बढी नेपाली सेटिङमार्फत बिदेसिन्थे । त्यो कुरा बाहिर आएपछि सरकारले बिस्तारै कडाइ गर्दै आयो । सेटिङको रेट १५ हजार, ३५ हजार हँुदै बिचौलिया र अध्यागमनका कर्मचारीको पनि रेट पनि बढ्दै गयो ।

पछिल्लो समयमा ८० हजार रुपैयाँसम्म रेट पुगेको स्रोतको दाबी छ । नाम उल्लेख नगर्ने सर्तमा विमानस्थलका एक कर्मचारीले भने, ‘सेटिङबाट कमाउनकै लागि विगतमा अध्यागमनका कर्मचारी आउने चलन थियो । हिजोआज सेटिङ गर्न नपाएर होला सबैका मुख सुकेका देखिन्छन् ।’

ती कर्मचारीका अनुसार त्यसरी सेटिङ हुँदा प्रहरी, विमानका कर्मचारीदेखि अध्यागमनका कर्मचारीको जालो हुन्थ्यो । विमानस्थलको सुरुको चेकिङमा प्रहरी हुने भएका कारण प्रहरीलाई पनि सेटिङमा सामेल गराइने गरिएको ती कर्मचारीको दाबी छ ।