वाद भर्सेज व्यवहार

राष्ट्रपति, प्रधानमन्त्री एवम् राजनीतिक दल र तिनका नेतामा देखिएको चमकधमकलाई जनताले मिहीन रुपले नियालेका छन् । यसले मुलुकमा गणतन्त्र अझै नआएको र जनता अझै पनि रैतीकै रुपमा रहेका हुन् कि भन्ने सन्देश गएको मात्र छैन, हिजोको राजतन्त्र र आजको गणतन्त्रमा कहाँनिर फरक छ भनेर खोज्ने बेला भएको छ ।

जननेता स्व. मदन भण्डारीले २०४८ सालको आम निर्वाचनमा चाबहिल चोकको सभालाई सम्बोधन गर्दै तत्कालीन राजा वीरेन्द्रलाई चुनौती दिँदै भनेका थिए, ‘आऊ, श्रीपेच फुकालेर चुनावमा लड्न । म तयार छु महाराज ! हात नलम्काइबक्सियोस् ! आँखा नचम्काइबक्सियोस् ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस् ! यदि सन्डमुसन्डहरुलाई नै चलाउने हो भने, यदि सन्डमुसन्डहरुलाई अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुप¥यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’

प्रधानमन्त्री केपी ओली उनै भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादलाई टेकेर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा आसीन छन् । ओली सरकारले बिदाका कारण उत्पादकत्वमा कमी आएको ठम्याइ दसैं बिदा कटौती ग¥यो । यसलाई धेरैले राम्रै कामका रुपमा लिए । तर, प्रम ओली आफैंले आफ्ना कार्यकर्ता, इष्टमित्र, शुभेच्छुकहरुलाई चतुर्दशीसम्म टीका लगाएको चित्रण हुन थालेपछि जनस्तरबाटै आलोचना हुन थाल्यो ।

सरकारका पदाधिकारी र शाहकालीन पूर्वशासकहरुबीच के अन्तर भयो भनेर सामाजिक सञ्जालहरुमा एक किसिमको आक्रोश देखियो । खासगरी समाजवाद हुँदै साम्यवाद परिकल्पना गरेका कम्युनिस्ट शासकहरुको व्यक्तिपिच्छे विभिन्न क्रियाकलापलाई जनस्तरले रुचाएन । उनीहरुको ढोंगी व्यवहार भन्दै जनस्तरबाट बढी नै आलोचना भयो । हुन त नेपालको संविधान २०७२ ले नेपाल पूर्ण रुपमा धर्मपिनरपेक्ष देश होइन भन्ने देखाउँछ । यद्यपि संविधानमा धर्मनिरपेक्ष मुलुकका रुपमा लिइएको छ । संविधानले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यलाई सुम्पिएको छ । राज्य भएकै कारण राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रहरी महानिरीक्षकले टीका लगाइदिएर संवैधानिक दायित्व पूरा गरेका छन् । तर, जुन किसिमको शैली देखिएको छ, त्यसमा जनस्तरको चासो हो ।

मदन भण्डारीले भनेको अर्को भनाइ अहिलेको राजनीतिक माहोलमा बढी सान्दर्भिक देखिन्छ । उनले भनेका थिए, ‘सामन्तवादको समूल अन्त्य नभएसम्म राजा रहनु र नरहनुले खासै फरक पार्दैन ।’ तिनै महान् विचारककी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति छन् । राष्ट्रपति भवनमा टीका ग्रहण कार्यक्रममा धनुष्टङ्कार शैलीमा बाहिरिएका विभिन्न फोटो सुटहरुले राष्ट्रपति पदको मान मात्र नभएर गणतन्त्रकै अपमान गरेको आभास मिल्छ । राष्ट्रपति, प्रधानमन्त्री एवम् राजनीतिक दल र तिनका नेतामा देखिएको चमकधमकलाई जनताले मिहीन रुपले नियालेका छन् । यसले मुलुकमा गणतन्त्र अझै नआएको र जनता अझै पनि रैतीकै रुपमा रहेका हुन् कि भन्ने सन्देश गएको मात्र छैन, हिजोको राजतन्त्र र आजको गणतन्त्रमा कहाँनिर फरक छ भनेर खोज्ने बेला भएको छ ।

यहाँनिर निबन्धकार श्यामप्रसाद शर्माको निबन्धलाई सम्झनु पनि मनासिव हुन्छ । उनले एउटा निबन्ध लेखेका छन्— आइमाई साथी । यो निबन्धमा शर्माले एक जना पण्डितजीको ‘प्रगतिशीलता’बारे चर्चा गरेका छन् । उनले चर्चा गरेका पण्डितजीको व्यवहार यस्तो छ— आफ्नी श्रीमतीलाई घरको कोठामा थुनी, ताल्चा मारी, त्यसको साँचो जनैमा झुन्ड्याई सभासमारोहमा नारी स्वतन्त्रताका चर्का भाषण दिन्छन् । साथीसँगीसँगको चर्चापरिचर्चामा पनि उनी नारी अधिकारका कुरा गरेर थाक्दैनन् । बोलीपिच्छे नारीलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने आशयका अभिव्यक्ति दिनु उनको दैनिकी नै हो । कतै हाम्रो राजनीतिक संस्कार पनि त्यही बाटोमा जाने सङ्केत गरेको त होइन ?