मुगुको खटार गाउँपालिका २ जामटोलका १९ वर्षीय सुरेन्द्र परियारको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं : काठमाडौंको मैतीदेवीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम थर वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाँकालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ कर्रा पुल नजिकै हिजो बेलुकी ट्याङकरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मुगुको खटार गाउँपालिका २ जामटोलका १९ वर्षीय सुरेन्द्र परियारको घटनास्थलमै मृत्यु भएको हो ।
रातमाटेबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना २ ख ४८४६ नम्बरको ट्याङकरले पैदल हिँडिरहेका परियारलाई हिजो बेलुकी सवा ७ बजे ठक्कर दिएको थियो । ट्याङकरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिइसकेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ देउतीस्थानमा हिजो साँझ मोटरसाइकल ट्याक्टरसँग ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका ४ का २९ वर्षीय वीरबहादुर तोलाङ्गी छन् । उनको उपचारका क्रममा कर्णली प्रदेश अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक स्थानीय ३४ वर्षीय केशरबहादुर सार्कीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
हिजो साँझ पौने ७ बजे भे ३ प ८३७४ नम्बरको मोटरसाइकल र मे १ त ५३०५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए । दुवै सवारी साधन नियन्त्रणमा रहेको र ट्याक्टर चालक फरार रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिका १२ हरकट्टामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय प्रकाश परियार छन् ।
गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । हिजो साँझ सवा ६ बजे लु १ ख ६७९९ नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका परियारलाई ठक्कर दिएको थियो । माइक्रो बससहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ ।