मापसे सेवन गरी सवारी चलाउनेहरू बढे

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसेसम्बन्धी चेतनामूलक कक्षा लिएका थिए ।

चालू आवको चार महिनामा मापसे गरी सवारीसाधन चलाएका ३ सय ४१ जनाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवम प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको उनले बताए । महिलाले मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको उनको भनाइ छ ।

लेन अनुशासनतर्फ आव २०७४/७५ मा तीन हजार २ सय ५२ जनाले चेतनामूलक कक्षा लिएका छन् । चालू आवको चार महिनामा भने ७ सय ५२ महिलाले उक्त कक्षा लिएका छन् ।

आव २०७४/७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालू आवको चार महिनामा यस्ता कक्षा लिने महिलाको सङ्ख्या २ मात्र रहेको महाशाखाले जानकारी दिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारी छन् ।