no-image

सुधीर बस्नेत र कोहिनूर हिल हाउजिङ समेतको तर्फबाट भनी भेगासिटी अपार्टमेन्ट बुकिङकर्तालाई सम्झौता नवीकरण तथा पैसा बुझाउन आउन सार्वजनिक सूचना गरेपछि रोक लगाइएको समितिले जनाएको छ । भेगासिटीले बुधबार सूचना प्रकाशित गरी नवीकरण गर्न र बुकिङ रकम बुझाउन आउन भनेको थियो ।

 

काठमाडौं : सरकारले भेगासिटी अपार्टमेन्टलाई बुकिङ, नवीकरण र थप रकम उठाउन गर्न रोक लगाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अर्न्तगतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भेगासिटी हाउजिङका सञ्चालकलाई उपभोक्ताबाट बुकिङ र थप रकम नलिन निर्देशन दिएको हो ।

सुधीर बस्नेत र कोहिनूर हिल हाउजिङ समेतको तर्फबाट भनी भेगासिटी अपार्टमेन्ट बुकिङकर्तालाई सम्झौता नवीकरण तथा पैसा बुझाउन आउन सार्वजनिक सूचना गरेपछि रोक लगाइएको समितिले जनाएको छ । भेगासिटीले बुधबार सूचना प्रकाशित गरी नवीकरण गर्न र बुकिङ रकम बुझाउन आउन भनेको थियो ।

गत साउन २५ गते भेगासिटी हाउजिङका सञ्चालक अध्यक्ष, भेगासिटका उपभोक्ता समिति र ओरेन्टल कोअपरेटिभका पीडित प्रतिनिधिबीच भएको समझदारीपत्र (एमओयू) विपरीत काम भएको समितिले स्पष्ट पारेको छ । एमओयूमा निर्माणाधीन अपार्टमेन्टमा थप दायित्व बढाउन, बुकिङका नाममा थप पैसा उठाउन र कसैबाट ऋण लिन नपाउने व्यवस्था गरिएको छ ।

निर्माणाधीन अपार्टमेन्टको दायित्व बढाउन, थप बुकिङ गर्न र समायोजन र किस्ताका नाममा बुकिङ गर्न जस्ता गैरकानुनी काम नगर्न र नगराउन समितिले हाउजिङ व्यवस्थापनलाई निर्देशन दिएको छ । समितिले बुकिङको नाममा समायोजन र थप रकम भुक्तानी नगर्न सर्वसाधारणलाई अनुुरोध समेत गरेको छ ।

यस्तै अधुरो अवस्थामा रहेको अपार्टमेन्टको काम सम्पन्न गराउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारी अबिलम्ब पेश गर्न गत असार २६ गते दिएको निर्देशन नबुझाएको समितिले जानकारी दिएको छ । लिखित तथा मौखिक ताकेता गर्दा पनि हाउजिङ व्यवस्थापनले डीपीआर नदिएको समितिले जानकारी दिएको छ ।

सर्वसाधारणको १२ अर्ब ठगी

हाउजिङ व्यवसायमा टाट पल्टिएपछि बस्नेतमाथि सर्वसाधारणको १२ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लाग्दै आएको छ । प्रहरीले पक्राउ गरेका बस्नेत अहिले जेलबाट छुटेका छन् । उनले सञ्चालन गरेको ओरेन्टल कोअपरेटिभबाट सर्वसाधारणको ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन गर्नुका साथै बैङ्कहरुको ऋण र हाउजिङलगायत कारोबारमा ८ हजारभन्दा बढीलाई ठगी गरेका छन् ।

ओरेन्टल कोअपरेटिभ र अग्नि यातायात सञ्चालन गरेका बस्नेतले व्यवसाय विस्तारका क्रममा आयुषा डेभलपर्स, ओरियन्टल बिल्डर्स, कोहिनूर हिल हाउजिंगमार्फत् सस्तोमा आवास दिने योजना ल्याएका थिए । २०६६ सालसम्म हाउजिङमा उनी सबैभन्दा ठूलो व्यवसायी बनेका थिए । बस्नेतले गरेको लगानी गरेका ग्राण्ड बैङ्क, अग्नी एयरलाइन्स डुबेका छन् ।

सुधीर बस्नेतले प्राइम कमर्शियल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, एनआर्इसी एसिया, नबिल बैङ्क, तत्कालीन किष्ट बैङ्क र ग्राण्ड बैङ्क हालको प्रभु बैङ्क, लुम्बिनी बैङ्क हालको बैङ्क अफ काठमाण्डू, सिद्धार्थ बैङ्क, सिभिल बैङ्क, सेञ्चुरी बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट ऋण लिएका थिए ।