एसिया प्यासिफिक समिट शुक्रबारदेखि सुरूहुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

भीभीआईपी तथा भीआईपी निर्देशिका २०७० अनुसार देशका चार ओेटै सुरक्षालाई एकीकृत रुपमा परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

काठमाडौं : राजधानीमा भोलlबाट सुरु हुने एसिया प्यासिफिक समिट २०१८ मा सहभागी विदेशी पाहुनाको सुरक्षाका लागि सरकारले चारै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरेको छ । भीभीआईपी तथा भीआईपी निर्देशिका २०७० अनुसार देशका चार ओेटै सुरक्षालाई एकीकृत रुपमा परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

कार्यक्रममा आउने पाहुनालाई तीन तहमा सुरक्षा प्रदान गरिने प्रवक्ता सुवेदीले बताए । भीआईपीहरुको बासस्थान, उनीहरुले प्रयोग गर्ने सडक मार्ग र कार्यक्रम स्थललाई सुरक्षा प्रदान गरिने प्रवक्ता सुवेदीले जानकारी दिए । त्यसका लागि गएको मङ्गलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले समिट अवधिभर काठमाडौँ उपत्यकामा एकीकृत सुरक्षा योजना लागू गर्ने निर्णय समेत गरिसकेको छ ।

सरकारले एकीकृत सुरक्षा योजनाअन्तर्गत सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालनको निर्णय गरेको हो। कार्यक्रममा सहभागी हुन आउने म्यानमारकी स्टेट काउन्सिलर अाङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री सेनको भ्रमण औपचारिक भएकालेसमेत समिटका लागि सरकारले विशेष सुरक्षामा ध्यान दिएको गृह प्रवक्ता सुवेदीले बताए ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत १३ देखि १७ मङ्सिरका लागि चारै सुरक्षा निकायका गरी ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ । एकीकृत योजनाअनुसार चार तहमा सुरक्षा घेरा बनाएर कार्यक्रमस्थल, निवास र बाटोघाटोको सुरक्षा प्रदान गरिनेछ । कार्यविधिअनुसार राष्ट्रप्रमुख, कार्यकारी प्रमुख र उप प्रमुखका हकमा व्यक्तिगत सुरक्षाका लागि सेनाको सुरक्षा दिइनेछ । त्यसैगरी अन्यका हकमा प्रहरीको सुरक्षा सेवा निर्देशनालयका कमाण्डो खटाइने छ ।

कार्यक्रम स्थल र निवासमा सेनाको बम डिस्पोजल टोलीको एउटा टोली चौबीसै घण्टा तैनाथ हुनेछ । कार्यक्रम अवधिभरका लागि सेना र सशस्त्रका सुरक्षाकर्मीले पैदल तथा सवारीसाधनमा गस्ती गर्नेछन् । त्यस्तैगरी सुरक्षाका दृष्टिले समिटमा सहभागी हुन आउने विदेशी पाहुनाहरुलाई तीन तहमा विभाजन गरी बासस्थानको व्यवस्था गरिएको छ ।

पहिलो श्रेणीमा रहेका सातजना पाहुनाका लागि होटल सोल्टीमा बासस्थानको व्यवस्था मिलाइएको छ । दोस्रो श्रेणीमा राखिएका विदेशी पाहुनालाई होटल हायात, तेस्रोका लागि द्वारिकाजमा व्यवस्था मिलाइएको छ । त्यस्तै कार्यक्रमा आउने अन्य पाहुनाहरुलाई भने होटल याक एण्ड यतिमा बासस्थानको व्यवस्था गरिएको छ ।