भर्ना छनौटमा घुस लिने १२ सेनाका अधिकृतलाई ५ वर्षसम्म कैद, ३ करोड २२ लाख बिगो माग

काठमाडौं । नेपाली सेनाले भर्नामा अनियमितता गरेको आरोपमा १ सय ७३ जनालाई कारबाहीको फैसला गरेको छ । नेपाली सेनाले २०७३/२०७५ सालको भर्ना छनौटमा रकमको अनियमीतता भएको ठहर गर्दै १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैदको सजाय सुनाएको छ ।

गएको जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिकृतसहित १ सय ८७ जनालाई भर्ना प्रक्रियामा दोषी ठहर गर्दै कारवाहीका लागि सैनिक अदालतमा सिफारिस गरेको थियो ।

त्यसमध्ये ४ अधिकृतसहित १४ जनाले सफाइ पाएका छन् । गएको कात्तिक ६ मा उपरथीको अध्यक्षतामा गठन भएको ९ सदस्यीय जनरल समरी सैनिक अदालतले २३ अधिकृतसहित १७३ जनालाई दोषी ठहराएको हो । त्यसमा १० जनाबाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ विगो रकम असुल गर्ने समेत फैसला गरिएको छ ।

त्यसैगरी २ जनालाई ६ वर्ष कैद र भविष्यमा सरकरी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त समेत गरिएको छ । त्यस्तै २ अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पनि गरिएको छ ।

कारवाहीमा परेका मध्ये १ सय १ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गरेको छ । भने ३७ जनाको ३ वर्ष बढुवा रोक्का र १७ जनालाई पद अनुकुल आचरण नगरेको भन्दै सचेत गराइएको छ । नेपाली सेनाको भर्ना छनौटमा भष्ट्रचार हुने गरेको कुरा ब्यापक उठेपछि सेनाले यस्तो कदम चालेको हो ।