नाट्टाको निर्वाचनका लागि पाण्डे समुहको प्यानल घोषणा

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को आगामी कार्यकालको लागि सिएन पाण्डे समुहले आइतवार प्यानल घोषणा गरेको छ ।

आगामी पुष २८ गते हुने निर्वाचनका लागि पाण्डेको नेतृत्वमा प्रथम उपाध्यक्ष अच्युत गुरागाईं, द्धितिय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश थापा, सचिव हरिभक्त श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापा, सहकोषाध्यक्ष सुरेन्द्र भट्टराई, सदस्य इनु थापा, देवकी गुरुङ्ग, राजु ढकाल, रमेश पौडेल, कुमारमणी थपलिया, फुरी शेर्पा, रोमेश श्रेष्ठ, सुदर्शन नेपाल चुनावी मैदानमा छन् ।

अध्यक्ष पदका उम्मेदवार पाण्डेले नाट्टामा साझा नेतृत्व आउनुपर्छ भनेर आफुहरु निर्वाचनमा होमिएको बताए । ‘पर्यटन व्यवसायमा राजनीतिक विभक्त भएर चुनाव लड्ने होइन भनेर हामी साझा रुपमा आएका छौं,’ उनले भने । पर्यटन व्यवसायमा सरकारसँग धेरै विषयमा छलफल गरेर अगाडी जानुपर्ने भएकाले त्यसका लागि आफुहरु तयार रहेको बताए । सकभर निर्विरोध भएर जाने तयारी भैरहेको छ, चुनावभन्दा मिलेर नै जाने योजनाअनुसार छलफल भएको उनले बताए ।

सदस्यका आकाँक्षी राजु ढकालले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले एकताबद्ध भएर जानुपर्ने बताए । ‘हामीले नेपाल एयरलाइन्सको जहाज १० वटा पुराउनका लागि सरकारलाइ निरन्तर दबाब दिने, सन् २०३० मा ५० लाख पर्यटक भित्राउने ग्लोबल ब्राण्ड बनाएर जानुपर्ने र पर्यटक बसका लागि छुट्टै बसपार्क निर्माण गर्नुपर्नेलगायतका एजेन्डालाई अगाडी सारेका छों,’ उनले भने । नाट्टाको आफ्नै भवन बनाउने धेरैको लामोसमयदेखिको इच्छा हो त्यसका लागि यो टिमले चाँडैनै काम गर्ने उनले बताए ।