मलेसिया खुलाउन प्रगतिशील वैदेशिक रोजगार मञ्चद्वारा प्रधानमन्त्रीलाई आग्रह

मङ्गलबार प्रधानमन्त्री ओलीलाई सम्बोधन गरी सार्वजनिक गरिएको विज्ञप्तिमा श्रम सम्झौता भएलगत्तै नेपाल सरकारको तर्फबाट रोजगारी खुलाउने उल्लेख गरिएको भए पनि हालसम्म नखुलेकाले आवश्यक निर्देशन जारी गर्न अनुरोध गरिएको छ ।

काठमाडौं : नेकपा निटक प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपालले विगत ६ महिनादेखि बन्द भएको मलेसियाको रोजगार खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । मङ्गलबार प्रधानमन्त्री ओलीलाई सम्बोधन गरी सार्वजनिक गरिएको विज्ञप्तिमा श्रम सम्झौता भएलगत्तै नेपाल सरकारको तर्फबाट रोजगारी खुलाउने उल्लेख गरिएको भए पनि हालसम्म नखुलेकाले आवश्यक निर्देशन जारी गर्न अनुरोध गरिएको छ ।

मलेसियाको रोजगार खुलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पहल गर्दा ठोस निकास नभएका कारण आम व्यवसायी र रोजगारमा जान तयार रहेका नेपाली श्रमिकसमेतमा आशङ्का बढेका कारण समस्या समाधानका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रगतिशील रोजगार मञ्चले प्रधानमन्त्री ओलीलाई बुझाएको पत्रमा गत जेठ २ गते मलेसियाको रोजगार बन्द भएपछि उक्त समयभन्दा अघि भिषा प्रोसेसिङमा आएका ९ हजार २ सय १७ जना नेपाली श्रमिक हालसम्म जान नपाएको, भिषा प्रक्रियाका लागि तत्कालीन राज्यले व्यवस्था गरेका विविध शीर्षकमा खर्च गरेको करोडौं रुपैयाँ खेर जान लागेको उल्लेख छ ।

यस्तै विगतको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष मलेसिया मात्र जाने नेपाली श्रमिकहरुको सङ्ख्या १ लाखको हाराहारीमा रहेको र आव २०७४÷७५ मा समेत कुल १ लाख २ हजार ९ सय ७९ जना नेपाली कामदार मलेसिया गएको श्रम विभागको तथ्याङ्कले देखाएको छ ।

यस अनुपातमा यस वर्ष ६ महिना मलेसिया बन्द हुँदा ५० हजारभन्दा बढी नेपाली श्रमिकहरुको रोजगार गुम्न गएको र अझ ढिलाइ भएमा यो सङ्ख्या बढ्दै जाने र यसले नेपालको विप्रेषणका साथै समग्र अर्थतन्त्रमा समेत असर पर्ने भएकाले श्रम सम्झौता कार्यान्वयन गराउन सहयोग गरिदिनुहुन भनी मलेसिया राजदूतावासले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्रसमेत पठाएको र श्रम सम्झौता कार्यान्वयनमा अझै ढिलाइ हुँदै जाने हो भने मलेसिया सरकारले नेपाललाई स्रोत मुलकबाट हटाउन सक्ने खतरा बढ्दै गएको प्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।