पुननिर्माणमा इञ्जिनियरको ज्ञान सीप उपयोग गर्न पहल गर्छौ — ज्ञवाली

नेपालको इञ्जिनियर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउदै हाल पुनर्निर्माणमा खटिएका इञ्जिनियरसहित प्राविधिकहरुको सुविधा पूर्ववत कायम गर्न प्राधिकरणले पहल गरिरहेको जानकारी पनि दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरण अन्तर्गत खटिएर पुनर्निर्माणमा क्रियाशील इञ्जिनियरलगायत प्राविधिकहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणको पुँजीका रुपमा उपयोग गर्न सेवा निरन्तरताको लागि पहल गर्ने बताए ।

प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसियसन नेपालको ज्ञापन पत्र बुझ्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा नेपालको इञ्जिनियर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउदै हाल पुनर्निर्माणमा खटिएका इञ्जिनियरसहित प्राविधिकहरुको सुविधा पूर्ववत कायम गर्न प्राधिकरणले पहल गरिरहेको जानकारी पनि दिए ।

त्यसअघि, एसोसियसनका तर्फबाट अध्यक्ष शम्भु बहादुर श्रेष्ठले दुई बँुदे मागसहित ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा प्राधिकरणमा कार्यरत इञ्जिनियरहरुले खाईपाई आएको विशेष भत्ता पूर्ववत् कायम गर्न माग गरिएको छ ।

त्यसैगरी, संरचना एवं सम्पत्तिहरुको पुनर्निर्माण गर्दा प्राप्त प्राविधिकहरुको ज्ञान, सीप र अनुभवलाई खेर जान नदिन र राष्ट्र निर्माणमा पुँजीका रुपमा उपयोग गर्न इञ्जिनियर लगायत प्राविधिकहरुको सेवालाई निरन्तरता दिने सम्बन्धमा प्राधिकरणबाट सकरात्मक र स्पष्ट निर्णय गर्न माग गरिएको छ ।

प्राधिकरणले पुनर्निर्माणमा खटिंदै आएको इञ्जिनियर लगायतलाई प्रोत्साहन भत्ता दिंदै आएकोमा नेपाल सरकारले निर्णयमार्फत् विशेष प्रोत्साहन भत्ता कटौती भएको थियो । प्राधिकरणले पुनर्निर्माणको आकस्मिकतालाई ख्याल गरी फिल्डमा खटिने प्राविधिक लगायतका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराई अनुभव प्राप्त प्राविधिक एवं कर्मचारीलाई टिकाउने प्रस्ताव मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा लाग्ने गृहकार्य गरिरहेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका क्रममा स्थानीय तहहरुले भूकम्पप्रतिरोधी बलियो संरचना निर्माणमा इञ्जिनियरलगायतका प्राविधिकहरुलाई संलग्न गराइरहेकोले हालको पुनर्निर्माण सम्पन्न भएपछि पनि निरन्तरता दिने वातावरण तयार भएको बताए ।