नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनमा दिपेन्द्रकुमार शर्मा समुहले प्रतिबद्धतासहित प्यानल घोषणा गरेको छ ।
सोमबार राजधानीमा एक कार्यक्रम गर्दै शर्मा समुहले १५ बुदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रमा नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थाको विधानअनुसार अघि बढाउने, मध्य पूर्वबाट हुने एडीएम डिपोर्टीका लागि टिकेटिङ एजेन्टहरुमाथि परिरहेको आर्थिक भारलाई ध्यानमा राखेर एयरलाइन्सलाई नै बेहोर्न लगाउने, पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजत पत्रहरुलाई यथाशिघ नवीकरण गराउने, पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा ट्राभल क्षेत्रको समस्या समाधान गर्ने, नाट्टाको आधुनिक भवन तथा आर्थिक दायित्व सुनिश्चितताका लागि कार्यक्रम तर्जुमा गर्ने लगायतका प्रतिबद्धता उल्लेख छ ।
शर्माको प्यानलबाट प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता केसी भट्टराई कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सह–कोषाध्यक्षमा युवराज सुवेदी निर्वाचनमा होमिएका छन् । त्यसैगरि सदस्यहरुमा अमृतकुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्की रहेका छन् ।