पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर : दुई अर्ब घोटाला गरेको अख्तियारको आरोप

सिँचाइ विभाग तथा सिक्टा सिँचाइ आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीहरुको संलग्नतामा सम्पूर्ण सरोकारवाला तथा जानकारहरुसँग गहन छलफल, विस्तृत अध्ययन तथा अनुसन्धान, नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण तथा त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदनको तयारी बिना नै गुणस्तरहीन नहर निर्माण गरेको अख्तियारले जनाएको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बिक्रम पाण्डेलगायत २१ जनालाई २ अर्ब रुपैयाँबराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो ।

सिँचाइ आयोजनाको मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरीय कार्य हुन नसकेको र एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनः परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

सिँचाइ विभाग तथा सिक्टा सिँचाइ आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीहरुको संलग्नतामा सम्पूर्ण सरोकारवाला तथा जानकारहरुसँग गहन छलफल, विस्तृत अध्ययन तथा अनुसन्धान, नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण तथा त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदनको तयारी बिना नै गुणस्तरहीन नहर निर्माण गरेको अख्तियारले जनाएको छ । अनिवार्य ठानिएका गुणस्तर परीक्षण लगायतका प्रावधानसमेत ठेक्का सम्झौताको कागजातमा उल्लेख नगरी बदनियतका साथ छुटाई तथा अस्पष्ट र अपूर्ण प्रावधान राखिएको समेत आरोपपत्रमा उल्लेख छ ।

आयोजना निर्माणको काम गरिरहेको कालिका जेभी, परामर्शदाता कम्पनी ईआरएमसी (आईटीसीईओ), नेपाल जेभी र निर्माणस्थलका टिम लिडरको मिलेमतोमा जानीजानी ठेक्का सम्झौता भएको अख्तियारले जनाएको छ ।

राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको १४ वर्ष भएको छ । यो अवधिमा आयोजनामा १५ अर्ब रुपैयाँ पैसा खर्च भएको छ । डीपीआर बिना गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता गरी भ्रष्टाचार गर्ने उद्देश्य राखेका कारण मुद्दा दायर गरिएको हो ।