किसान र खाद्य उद्यमीबीच सहकार्य हुनुपर्छः कृषि राज्यमन्त्री चाैधरी

सुनसरीको इटहरीमा शुक्रबार सुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले परम्परागत खाद्य पदार्थसँग सम्बन्धित उद्यमी व्यवसायीहरुले आन्तरिक तथा बाह्य बजारमा सम्बन्ध स्थापित गर्नु पर्ने बताइन् । उनले किसान र व्यवसायीवीच कृषि क्षेत्रका वैज्ञानिक एवम् नयाँ सूचना आदान–प्रदान हुनु पर्नेमा जोड दिइन् ।

इटहरी । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले किसान, खाद्य उद्यमी, सेवा प्रदायक र उपभोक्ताबीच सहकार्य हुनु पर्ने बताएकी छन् ।

सुनसरीको इटहरीमा शुक्रबार सुरु भएको खाद्य मेलाको उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले परम्परागत खाद्य पदार्थसँग सम्बन्धित उद्यमी व्यवसायीहरुले आन्तरिक तथा बाह्य बजारमा सम्बन्ध स्थापित गर्नु पर्ने बताइन् ।
उनले किसान र व्यवसायीवीच कृषि क्षेत्रका वैज्ञानिक एवम् नयाँ सूचना आदान–प्रदान हुनु पर्नेमा जोड दिइन् ।

खाद्य उद्यमी तथा व्यवसायीहरुले उत्पादन गरेको खाद्य वस्तु स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउनु पर्ने आजको आवश्यकता भएको उनको भनाइ थियो ।

खाद्य प्रविधि तथा पोषण क्षेत्रमा अनुसन्धान भएका खाद्य परिकारहरुको जानकारी आम नागरिकले पाउनु पर्ने उनले बताइन् । राज्यमन्त्री चौधरीले स्वाच्छ जिवन जिउन स्वास्थ्य खाने कुरा खान सुझावसमेत दिइन् । उनले स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुको जानकारी गराउने योजना मन्त्रालयले अगाडि बढाएको जानकारी पनि दिइन् । उनले देशलाई माछा, मासु र दूग्ध पदार्थमा देशलाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउनु पर्ने बताइन् ।

खाद्य मेलाको उद्घाटनका अवसरमा शुभकामना मन्तव्य दिदै घरेलु तथा साना उद्योग प्रतिनिधि राजेन्द्रकेशरी घिमिरेले साना उद्योगीहरुको पहुँच विस्तार कार्यक्रम ल्याउन मन्त्रालयलाई सुझाव दिए । त्यसैगरी उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले मेला सफलताको शुभकामना दिएका थिए । खाद्य मेलाबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरका प्रमुख प्रमोद कोइरालाले प्रकाश पारेका थिए । मेला मंसिर २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।